बालेन शाहको अपिल: “अन्तरिम सरकार गठन र संसद् विघटन गरियोस्”

बुधबार, २५ भदौ २०८२

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले हालै देशभर फैलिएको Gen Z आन्दोलनका सन्दर्भमा सामाजिक सञ्जालमार्फत विशेष अपिल गरेका छन्। उनले वर्तमान परिस्थिति नेपालको राजनीतिक इतिहासकै भिन्न चरण भएको उल्लेख गर्दै धैर्य र संयमित रहन आग्रह गरेका छन्।

बालेनले भनेका छन्, “प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरू, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईंहरूले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। यो बेला नआत्तिनुहोस्, धैर्य राख्नुहोस्।”

उनका अनुसार देश अहिले अन्तरिम/चुनावी सरकारतर्फ अघि बढ्दैछ जसको प्रमुख जिम्मेवारी आगामी निर्वाचन सम्पन्न गराउनु र जनताबाट नयाँ जनादेश लिनु हुनेछ। यसै सन्दर्भमा उनले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि Gen Z बाट आएको प्रस्तावप्रति पूर्ण समर्थन जनाएका छन्।

शाहले लेखेका छन्, “Gen Z को सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु। तपाईंहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।”

साथै, उनले तत्काल नेतृत्व सम्हाल्ने आकांक्षा राख्ने युवाहरूप्रति पनि सन्देश दिँदै भनेका छन्, “तपाईंहरूको जोश र इमानदारिता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै। कृपया हतार नगर्नुहोस्।”

राष्ट्रपतिलाई सम्बोधन गर्दै उनले Gen Z ले ल्याएको ऐतिहासिक क्रान्तिलाई सुरक्षित राख्न अन्तरिम सरकार गठन र संसद् विघटन तत्काल गर्न आग्रह गरेका छन्।

यस्तो छ उनको स्टाटस :-

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार