भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमबार साँझ भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य सात जना सख्त घाइते भएका छन्।
स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन् ।
दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । उनले भने, “अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।”
प्रत्यक्षदर्शीले केही व्यक्तिको मृत्यु भएको बताएका छन् ।
एक स्थानीयले एएनआईलाई भने, “जब हामीले सडकमा कसैको हात देख्यौँ, हामी पूर्ण रूपमा स्तब्ध भयौँ। म यसलाई शब्दमा व्याख्या गर्न सक्दिनँ।
अर्का प्रत्यक्षदर्शीले भने, “जब हामी घटनास्थल नजिक पुग्यौँ, हामीले सडकमा शरीरका अङ्गहरू छरिएको देख्यौँ। के भयो कसैले पनि बुझ्न सकेनन् । धेरै कारहरू क्षतिग्रस्त भएका छन्।”
एक स्थानीय पसलेले एएनआईलाई बताए अनुसार उनले आफ्नो जीवनमा यति ठूलो विस्फोट कहिल्यै सुनेका थिएनन्।
उनले भने, “विष्फोटका कारण म तीन पटक लडेँ । यस्तो लाग्यो कि हामी सबै मृत्युको मुखमा गइरहेका छौँ । घटनामा धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।“
एलएनजेपी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले घाइतेमध्ये एक जनाको अवस्था स्थिर रहेको बताएका छन् ।
उनले भने, “पन्ध्र जनालाई लोकनायक अस्पतालमा ल्याइएको छ । तीमध्ये आठ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो ।
तीन जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था स्थिर रहेको छ।
राससको सहयोगमा
प्रतिक्रिया