काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेता सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग पाँच बुँदे सहमति गर्दै आगामी राजनीतिक पुनर्संरचनामा सहकार्य गर्ने घोषणा गरेका छन्।
रास्वपाका निवर्तमान प्रमुख सचेतक परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोब र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किरातीबीच भएको सहमतिपत्रमा मङ्सिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्ने उल्लेख छ।
सहमतिपत्रमा आगामी एकताबद्ध संरचना तयार गर्न नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउने सहमति भएको छ। साथै देश–विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्ति तथा विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरिएको छ।
सहमति पक्षहरूले वर्तमान राजनीतिक प्रणालीमा मौजुदा भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिलाई निर्वाचनमार्फत परास्त गर्न सबै नयाँ, वैकल्पिक शक्ति र युवापुस्तालाई हातेमालो गर्न पनि आग्रह गरेका छन्।
यस्तै, सहमतिपत्रमा उनीहरूले “विभिन्न कालखण्डमा भएका मुक्ति आन्दोलनदेखि हालको जेनजी आन्दोलनसम्म अवदान पुर्याएका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा बेपत्ता योद्धाप्रति सम्मान प्रकट गरेका छन्।” साथै, ती सहिद र आन्दोलनकारीहरूले देखाएको मार्ग पूरा गर्न प्रतिवद्धता जनाइएको छ।
प्रतिक्रिया