काठमाडौं । लामो समयसम्म आफूखुसी गैरहाजिर हुने २७ जना प्रहरीलाई स्पष्टीकरण सोधिएको छ।
भदौ यता २७ जना प्रहरी आफूखुशी गैरहाजिर रहेकाले उनीहरूलाई प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गर्दै सात दिनभित्र हाजिर हुन भनेको हो।
भदौ र असोज महिनाका विभिन्न मितिमा बिदा लिएर बिदा सकिँदासमेत कार्यालयमा हाजिर नभए पछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै उनीहरूलाई खोजी गरेको हो।
आफूखुशी गैरहाजिर हुनेहरूमा एक जना प्रहरी सहायक निरीक्षक, दुई जना हवलदार, तीन जना सहायक हवलदार, २० जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी छन्।
उनीहरूको खोजतलास गराउँदा तथा सूचना टाँस भइसक्दा पनि कार्यालयको सम्पर्कमा नआएको हेडक्वार्टरले जनाएको छ।
सम्पर्कविहीन रहेका ती प्रहरीहरूलाई स्पष्टीकरणसहित बाटोको म्याद बाहेक सात दिनभित्र उपस्थित हुन भनिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने कारबाही हुने प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया