भोजपुर। करिब चार महिनादेखि रोकिएको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएपछि नापी कार्यालय भोजपुरमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ। कात्तिक २७ गतेदेखि सेवा खुल्नेबित्तिकै व्यक्तिगत जग्गा किनबेच, घर नक्सा पास, धितो राख्ने तथा अन्य कानुनी प्रक्रियाका लागि सेवा लिन आउनेको भीड बढेको कार्यालयले जनाएको छ।
नापी कार्यालय भोजपुरका प्रमुख सागर गिरीका अनुसार सरकारले विसं २०८३ असार मसान्तसम्मलाई लक्षित गर्दै अस्थायी रूपमा कित्ताकाट खुलाएपछि लामो समयदेखि रोकिएका काम अघि बढाउन सर्वसाधारण कार्यालय धाउन थालेका छन्।
“कित्ताकाट रोकिएको बेला धेरैको काम अड्किएको थियो,” गिरीले भने, “अहिले सेवा खुलेपछि दैनिक सेवाग्राहीको चाप बढेको छ।”
भोजपुर स्थित नापी कार्यालयबाट सातवटा स्थानीय तहले नियमित सेवा लिने गर्छन्। उत्तरी क्षेत्रअन्तर्गत षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले भने दिङ्लास्थित मालपोत कार्यालयको शाखाबाट सेवा लिँदै आएका छन्।
कार्यालयका अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये केवल पौवादुङमा गाउँपालिकाले मात्र भूमिको वर्गीकरणसम्बन्धी काम पूरा गरेको छ। बाँकी स्थानीय तहले अझै वर्गीकरण सम्पन्न गर्न सकेका छैनन्। सरकारले तोकेको २०८३ असार मसान्तभित्र सबै स्थानीय तहले वर्गीकरण पूरा गरिसक्नुपर्ने कार्यालयको भनाइ छ।
भूमि वर्गीकरण अधुरो हुँदा कित्ताकाट रोकिएपछि सर्वसाधारणले व्यक्तिगत जग्गा बेचबिखन, धितो राखेर कर्जा लिने, अंशबन्डा गर्ने तथा अन्य कानुनी प्रक्रिया अघि बढाउन कठिनाइ भोग्दै आएका थिए।
प्रतिक्रिया