संशोधित ऐन खारेजीको माग गर्दै औषधि व्यवसायी आन्दोलनमा

बुधबार, १० मंसिर २०८२

झापा ।  नेपाल औषधि व्यवसायी सङ्घले देशभर सुरु गरेको आन्दोलनअन्तर्गत झापामा पनि औषधि व्यवसायीहरू विरोधमा उत्रिएका छन्। 

सङ्घ झापा शाखाको अगुवाइमा बिर्तामोड तथा आसपासका औषधि पसलहरूमा औषधि ऐन २०३५ को दफा ११ को उपदफा ५ खारेजीको मागसहित ब्यानर टाँगिएको छ ।

 

सङ्घका झापा अध्यक्ष जीवनकुमार खड्काका अनुसार संशोधित औषधि ऐनमा राखिएका दण्ड, जरिवाना तथा संस्था खारेजीसम्बन्धी कडा प्रावधानहरू व्यवसायीहित प्रतिकूल भएकाले देशभर चर्को विरोध सुरु गरिएको हो ।

 

उनका अनुसार संस्थाको नवीकरण एक महिनाभित्र नगरे स्वचालित रूपमा खारेज हुने व्यवस्था संविधानको मर्म विपरीत भएको भन्दै व्यवसायीहरूले ऐन संशोधनप्रति गम्भीर आपत्ति जनाएका छन् ।

 

मङ्सिर ११ गतेभित्र हाम्रो माग सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुन्छौं –  अध्यक्ष खड्काले भने । 

 

सङ्घले मङ्सिर १६ गतेसम्मका लागि चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आन्दोलनका क्रममा मङ्सिर ११ गते औषधि व्यवस्था विभागमा मौन धर्ना, कार्यस्थलमा कालो झण्डा एवं कालोपट्टी लगाउने, साथै एक घण्टा सेवा बन्द गर्ने कार्यक्रम रहेको सङ्घले जनाएको छ ।

 

खड्काका अनुसार नवीकरण अवधि पार गरेपछि सय प्रतिशत दण्डसहित दस्तुर तिर्नुपर्ने व्यवस्था पनि व्यवसायीहरूको प्रमुख असहमति हो ।

 

सङ्घ झापा शाखाका खुद्रा उपाध्यक्ष राकेश शाहका अनुसार मङ्सिर  १६ गतेसम्म पनि माग पूरा नभए मंसीर १७ गतेदेखि थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गरिने छ।

 

औषधि ऐन २०३५ लाई संशोधन गरी तयार पारिएको नयाँ प्रावधान व्यापारमै कठोर प्रभाव पार्ने भन्दै झापाका व्यवसायीहरू एकताबद्ध भएर विरोधको स्वर बुलन्द गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार