विराटनगरमा ठूलो मात्रा खैरो हेरोइनसहित दुई पुरुष पक्राउ

शुक्रबार, २६ मंसिर २०८२

विराटनगर । विराटनगरमा ठूलो परिमाणको लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बिहीबार दिउँसो विराटनगर–४ नोबेल अस्पतालनजिकै शंकास्पद अवस्थामा भेटिएका दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलम रहेका छन् । प्रहरीका अनुसार हबिबको साथबाट १३१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरिएको छ । 

मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालका अनुसार प्रहरी टोली त्यहाँ पुग्दा दुवै जना सडक छेउमा मोटरसाइकल रोकेर शंकास्पद रूपमा कुराकानी गरिरहेका थिए । हबिबले प्रयोग गरेको को २७ प ६४८१ नम्बरको मोटरसाइकल र आलमले चलाइरहेको बीआर १९ वाई ९५३ नम्बरको भारतीय मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक सोधपुछपछि दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरिएको छ । अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी चुँडालले बताइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार