पाँचथर। भयावह बन्दै गएको क्यान्सर रोगबाट पीडित नेपाली नागरिकको उपचारका लागि कोष खडा गर्ने उद्देश्यले पाँचथरबाट एक हजार आठ सय किलोमिटर लामो साइकल यात्रा सुरु गरिएको छ।
अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर मध्य पहाडी राजमार्गको उद्गम बिन्दु चिवा भञ्ज्याङदेखि क्यान्सर विजेता साइकल यात्रीहरूको अगुवाइमा यो अभियान प्रारम्भ गरिएको हो।
सिक्किम र नेपालको सीमावर्ती पाँचथरको याङवरक गाउँपालिका–१ स्थित चिवा भञ्ज्याङबाट सुरु भएको साइकल यात्रा एक महिनापछि मध्य पहाडी राजमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाट पुगेर औपचारिक रूपमा समापन गर्ने लक्ष्य राखिएको छ।
यात्राको अगुवाइ क्यान्सर जितेका साइकलयात्री कविता चित्रकार र हर्क लामाले गरेका छन् भने स्वास्थ्यकर्मी, प्राविधिक र छायाकार सहित १६ सदस्यीय टोलीको नेतृत्व डाक्टर सुमन ताम्राकारले गरिरहेका छन्।
यो अभियान धुलिखेल अस्पतालसँगको सहकार्यमा साइकल कल्चर कम्युनिटीले सुरु गरेको हो। यात्रासँगै क्यान्सर विरुद्ध जनचेतना जगाउने उद्देश्यले विभिन्न स्थानीय तहका जनप्रतिनिधि र समुदायसँग अन्तरक्रिया तथा छलफल कार्यक्रमहरू सञ्चालन गरिने ताम्राकारले बताए।
उनका अनुसार पछिल्लो समय बजारदेखि गाउँबस्तीसम्म फैलिँदै गएको क्यान्सर जोखिमबारे सचेतना बढाउने र बिरामीको उपचार खर्च सहयोग जुटाउन ‘क्यान्सर बिरामी सहयोग कोष’ स्थापनाका लागि संकलित रकम धुलिखेल अस्पताललाई हस्तान्तरण गरिनेछ।
नेपालमा हरेक वर्ष २२ हजारभन्दा बढी क्यान्सरका बिरामी थपिने तथ्याङ्क सार्वजनिक भइरहेका बीच उपचार पहुँच र सहयोग संयोजनमा यस्तो अभियान महत्वपूर्ण हुने आयोजकहरूको भनाइ छ।
चिवा भञ्ज्याङदेखि यात्रा सुरु गरेको टोली फिदिम आइपुग्दा फिदिम नगरपालिकाले साइकल यात्रीहरूको स्वागत र सम्मान गरेको छ।
नगरपालिकामा आयोजित कार्यक्रममा सहभागीहरूसँग क्यान्सर रोग, यसको जोखिम, रोकथाम र उपचार प्रणालीबारे अन्तरक्रिया समेत गरिएको फिदिम नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया