चितवन : गत साउन महिना यता चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा नौ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका पाइएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साउनयता पाँच वटा भाले र तीन वटा पोथी गैँडा मरेका हुन् ।त्यसैगरी एउटाको लिङ्ग पहिचान हुन नसकेको समेत उनले जानकारी दिए । मरेका गैँडामध्ये एउटा विद्युतीय करेन्ट लागेर हो भने अन्य सबै प्राकृतिक कारणले मरेका थापा मगरले जानकारी दिए ।
पछिल्लो पटक पुस २२ गते एउटा भाले गैँडा मरेको जनाउँदै मगरले कुमरोज मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत भेटिएको बताए । “यो गैँडा जुधेर मरेको अनुमान गरिएको छ । गैँडाको खाग, खुर सुरक्षित अवस्थामा थियो”, उनले भने । हरेक वर्ष गैँडा विभिन्न कारणले मर्ने गरेकामा प्राकृतिक रूपमा, विद्युतीय करेन्ट लागेर तथा एकापसमा जुधेर, दलदलमा फसेरलगायत प्रमुख कारण रहेको समेत निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए ।
प्रतिक्रिया