रौतहट : सामुदायिक कुकुरको टोकाईबाट एकैदिन रौतहटका विभिन्न स्थानमा ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । जिल्लाका विभिन्न पालिकाहरूमा बुधबार बिहानैदेखि मानिसहरुलाई सामुदायिक कुकुरले टोक्रने क्रम बढेपछि स्थानीयमा त्रास फैलिएको छ ।
जिल्लाको गढीमाईको वडा नम्बर १, ४, ६ र ८ का साथै फतुवा विजयपुर नगरपालिका र राजपुर नगरपालिकाका केही गाउँका बासिन्दाहरू सामुदायिक कुकुरको टोकाईबाट घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । अस्पतालका सूचना अधिकारी कपिलदेव झाका अनुसार २७ जनाभन्दा बढी घाइतेलाई रेबिजविरुद्धको खोप लगाइसकिएको छ । अरु आउने क्रम समेत रहेको झाले बताए ।
‘घाइते आउने क्रम अझै जारी छ, हामीले उपलब्ध स्रोत र साधनको प्रयोग गरी उपचार गरिरहेका छौँ,’ झाले भने । केही गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा रेबिजविरुद्धको खोप र आवश्यक औषधि पर्याप्त मात्रामा उपलब्ध रहेको र चिकित्सकहरूले घाइतेहरूको निरन्तर निगरानी गरिरहेको समेत झाले जानकारी दिए ।
कुकुरको आक्रमण बढेपछि रौतहटका यी क्षेत्रहरूमा त्रास फैलिएको छ । सामुदायिक कुकुरको डरले गर्दा बालबालिकालाई विद्यालय पठाउन र वृद्धवृद्धालाई घरबाहिर निस्कन समेत मुस्किल भएको स्थानीयको गुनासो रहेको छ । बिहान–बेलुकाको समयमा आवतजावत गर्न अत्यन्तै जोखिमपूर्ण बनेको भन्दै स्थानीयले यस्ता कुकुर नियन्त्रणका लागि सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।
प्रतिक्रिया