एमाले इलामबाट कागते र नेम्वाङ उम्मेद्धार

आइतबार, ०४ माघ २०८२

इलाम : प्रतिनिधि सभाको चुनाव नजिकिएसँगै नेकपा एमाले इलामले उम्मेद्धार इलामका दुवै क्षेत्रबाट उम्मेद्धार चयन गरेको छ । निर्वाचन क्षेत्र नम्बर एकमा काजीमान  कागतेलाई उम्मेद्धार बनाउने भएको छ भने इलाम क्षेत्र नम्बर दुईबाट सुहाङ नेम्वाङलाई उम्मेद्धार बनाउने भएको हो । 

नेकपा एमालेको शनिवार बसेको सचिवालय बैठकबाट १ सय ६५ मध्ये १ सय ४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरेको हो । जसमा इलामका दुवै निर्वाचन क्षेत्रबाट उम्मेद्धार छनौट गरेको हो । 

नेम्वाङ निवर्तमान सङ्घीय सांसद हुन् भने कागते पूर्व प्रदेश सभा सदस्य हुन् । सुहाङ नेम्वाङ इलाम क्षेत्र नम्बर दुईबाट २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा २७ हजार ७ सय ७२ ल्याएर विजयी भएका थिए । नेम्वाङका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले सो निर्वाचनमा २२ हजार ९ सय ४२ मत ल्याएका थिए ।

 सो उपनिर्वाचनमा तत्कालीन माओवादीको साथ समेत एमाले उम्मेद्धार नेम्वाङलाई थियो । एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य समेत निर्वाचित सुहाङको नाम नेकपा एमाले इलामले एकल सिफारिस समेत गरेको थियो । 

नेकपा एमालेले इलाम क्षेत्र नम्बर एकबाट तीन जनाको नाम सिफारिस गरेको थियो । सांसद महेश बस्नेत, काजीमान कागते र दुर्गादेवी भट्टराईको नाम सिफारिस गरेको थियो । बस्नेत २०७९ सालमा सम्पन्न निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए । 

कागते कोशी प्रदेशसभाका पूर्व सदस्य र भट्टराई सूर्योदय नगरपालिकाकी पूर्वप्रमुख हुन् । शनिवार बसेको सचिवालय बैठकबाट पूर्व प्रदेश सभा सदस्य कागतेलाई उम्मेद्धार बनाएको हो । 

निर्वाचन आउन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्न दुई दिन मात्रै बाँकी छ । प्रतिनिधिसभा चुनावको कार्यतालिका अनुसार मङ्गलवार प्रत्यक्षतर्फको उम्मेदवारहरूको मनोनयन हुँदैछ । जसका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार