काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ ।
आगामी फागुन २० गते रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा कांग्रेस–एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का १७ उम्मेदवार विजयी भएका छन् । कांग्रेसका एक जना उम्मेदवार यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
कांग्रेस–एमालेको गठबन्धनमा लोसपा पनि सहभागी थियो । लोसपाले एक सिट पाएको थियो । बाँकी १७ सिटमध्ये कांग्रेसले नौ र एमालेले आठ सिट जितेका छन् । गठबन्धनका कारण उनीहरू निर्वाचित हुने अवस्था चुनावअघि नै सुनिश्चित थियो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक्लै चुनाव लडे पनि कुनै सिट जित्न सकेन ।
विजयी हुनेमा कोसी प्रदेशबाट कांग्रेसका सुनिल थापा तथा एमालेकी रोशनी मेचे र सोमनाथ पोर्तेल रहेका छन् । थापा निर्विरोध निर्वाचित भएका हुन् ।
मधेस प्रदेशबाट कांग्रेसका रञ्जित कर्ण र धर्मेन्द्र पासवान तथा एमालेकी रेखा झा विजयी भएका छन् । बागमतीबाट कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेम दंगाल निर्वाचित भएका छन् । गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा विजयी भएका छन् ।
लुम्बिनी प्रदेशबाट कांग्रेसका बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेकी रामकुमारी झाँक्री विजयी भएका छन् । कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मीना सिंह रखाल निर्वाचित भएका छन् । सुदूरपश्चिमबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लीलाकुमारी भण्डारी विजयी भएका छन् ।
कांग्रेस–एमाले र लोसपाले क्लस्टर मिलाएर उम्मेदवारी दिएका थिए । कांग्रेसमा गगन थापा सभापति बन्नुअघि नै दुई पार्टीबीच तालमेल भएको थियो । शेरबहादुर देउवा सभापति र पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेका बेला एमाले र लोसपासँग राष्ट्रियसभामा तालमेल गर्ने सहमति भएको थियो । नयाँ नेतृत्वले उक्त सहमति कायम राख्ने निर्णय गरेको थियो ।
आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा कुल ९५.६८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । ५२९ प्रदेशसभा सदस्य, १ हजार ४८२ पालिकाका प्रमुख/अध्यक्ष र २ हजार ११ उपप्रमुख/उपाध्यक्ष मतदाता रहेकामा ४९८ प्रदेशसभा सदस्य र १ हजार ४२६ पालिकाका पदाधिकारीले मतदान गरेका थिए ।
कोसीमा ३६० मध्ये ३४५, मधेसमा ३६४ मध्ये ३४१, बागमतीमा ३३८ मध्ये ३१८, गण्डकीमा २२८ मध्ये २२३, लुम्बिनीमा २९९ मध्ये २८६, कर्णालीमा १९८ मध्ये १९१ र सुदूरपश्चिममा २२४ मध्ये २२० मत खसेको आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् ।
राष्ट्रियसभा निर्वाचनमा एक सांसदको नाममा फर्जी मतदान भएको तथ्य सार्वजनिक भएको छ । कोसी प्रदेशमा प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङको नाममा मत खसालिएको देखिए पनि उनले आफू मतदानस्थल नगएको दाबी गरेका छन् । उनी तीन दिनदेखि काठमाडौंमै रहेको र विराटनगरस्थित मतदान केन्द्रमा उपस्थित नभएको बताएका छन् ।
थाम्सुहाङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्य हुन् । उनले पार्टीको निर्णयअनुसार राष्ट्रियसभा निर्वाचनमा मतदान नगरेको स्पष्ट पारेका छन् । यो घटनाले राष्ट्रियसभा निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।
राष्ट्रियसभा निर्वाचनमा राप्रपाका मतदाता सहभागी भएनन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेकाले राष्ट्रियसभा निर्वाचनमा सहभागी नभएको हो । राप्रपाबाट राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी पनि परेको थिएन ।
सुनिलबहादुर थापा (कोसी)
धर्मेन्द्र पासवान (मधेस)
रञ्जित कर्ण (मधेस)
गीता देवकोटा (बागमती)
जगत तिमिल्सिना (गण्डकी)
बासुदेव जंगली (लुम्बिनी)
चन्द्रबहादुर केसी (लुम्बिनी)
ललितजंग शाही (कर्णाली)
खम्मबहादुर खाती (सुदूरपश्चिम)
रोशनी मेचे (कोसी)
सोमनाथ पोर्तेल (कोसी)
रेखाकुमारी झा (मधेस)
सम्झना देवकोटा (गण्डकी)
रामकुमारी झाँक्री (लुम्बिनी)
मीना सिंह रखाल (कर्णाली)
लीलाकुमारी भण्डारी (सुदूरपश्चिम)
महन्थ ठाकुर (मधेस)
प्रतिक्रिया