काठमाडौं : गाउँमा कार्यकर्ता र मतदाता उम्मेदवारको प्रतीक्षामा छन् । तर उम्मेदवारहरू भने अझै सहरमै केन्द्रित देखिन्छन् । काठमाडौं, विराटनगर, पोखरालगायत सहरका पार्टी प्यालेस र क्याफेहरू यतिबेला राजनीतिक कार्यक्रमले व्यस्त छन् । दिनहुँ फरक–फरक राजनीतिक दलका चुनावी कार्यक्रम हलैपिच्छे भइरहेका छन् । यसले देशभरका मतदाता सहरमा बढी केन्द्रित छन् भन्ने संकेत गरेको छ ।
गत माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गरेपछि सदरमुकाममा केही नेता–कार्यकर्तासँग सामान्य भेटघाट गरी अधिकांश उम्मेदवार काठमाडौं केन्द्रित भएका हुन् । पार्टीका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्रको प्रारम्भिक सर्वेक्षण गर्दै थप रणनीति बनाउन व्यस्त रहँदा उम्मेदवारहरू पनि आफ्ना क्षेत्रका सहरमा बसोबास गर्ने मतदातासँग संवादमा जुटेका नेताहरू बताउँछन् ।
निर्वाचन आयोगले फागुन ४ गतेपछि मात्रै औपचारिक चुनावी अभियान सञ्चालन गर्न अनुमति दिएको छ । त्यसअगाडि दलहरू सहर केन्द्रित मतदाता भेटघाट, चुनावी रणनीति तय गर्ने, आर्थिक तथा सचिवालय व्यवस्थापन, टिकट नपाएर असन्तुष्ट बनेका नेताहरूलाई फकाउनेलगायत काममा व्यस्त छन् ।
आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा एक हप्ताको अभियान सकेर काठमाडौं आएका नेपाली कांग्रेसका सभापति गगन थापा देशव्यापी चुनावी रणनीति बनाउन व्यस्त रहेको कांग्रेसले जनाएको छ । त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि झापा–५ मा एकपटक मतदातासँग भेटघाट गरेर काठमाडौं फर्किएपछि व्यवस्थापकीय पक्षमा केन्द्रित भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायत सबै दल चुनावी व्यवस्थापनमा लागिरहँदा उम्मेदवारहरू पनि आन्तरिक व्यवस्थापन र सहर केन्द्रित मतदातासँग व्यस्त छन् । आन्तरिक व्यवस्थापनसँगै उनीहरूलाई पार्टीका सम्बन्धित जिल्ला–काठमाडौं सम्पर्क समितिले आयोजना गरेका कार्यक्रममा सम्बोधन गर्न भ्याइनभ्याइ छ । कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओली अधिकांश सम्पर्क समिति कार्यक्रमहरूमा सहभागी हुने गरेका छन् ।
पार्टीका तल्लो तहका कार्यकर्ताले उम्मेदवारलाई चाँडो गाउँ पस्न दबाब बढाए पनि निर्वाचन आयोगले औपचारिक चुनावी कार्यक्रमको समय फागुन ४ पछि मात्रै तोकेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका दल र तिनका उम्मेदवारहरू निर्वाचन आचारसंहिता पालना गर्दै आन्तरिक व्यवस्थापनमै केन्द्रित भएको बताउँछन् ।
देशका ७७ वटै जिल्लाका नागरिक अहिले सहर केन्द्रित छन् । शिक्षा, रोजगारी र पारिवारिक बसाइँसराइका कारण अस्थायी बसोबास मुख्य सहरमा गरेका मतदातासँग अनौपचारिक भेटघाट, अन्तर्क्रिया र सहयोग माग्ने अभियानमा उम्मेदवारहरू जुटेका हुन् । त्यस्ता भेटघाट कार्यक्रमहरूको संयोजन सम्बन्धित जिल्ला–काठमाडौं सम्पर्क समितिले गर्ने गरेका छन् ।
अनुमान अनुसार कम्तीमा १५ लाख मतदाता काठमाडौं उपत्यकामा छन् । त्यसैगरी पोखरा, विराटनगर, वीरगन्ज, चितवन, हेटौंडा, नेपालगन्ज, बुटवल, सुर्खेतलगायत सहरी क्षेत्रमा पहाडी र भित्री मधेसका मतदाता अस्थायी रूपमा बसोबास गर्छन् । उनीहरूलाई मतदानका लागि गाउँ लैजाने योजना उम्मेदवारहरूले बनाइरहेका छन् ।
ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका अधिकांश पार्टीका सम्पर्क समितिले चुनावी कार्यक्रम सम्पन्न गरिसकेका छन् । नेपाली कांग्रेस ओखलढुंगाले आफ्ना उम्मेदवारलाई जिताउन पोखरा, काठमाडौं र इटहरीमा औपचारिक कार्यक्रम सम्पन्न गरिसकेको जिल्ला सभापति तेजेन्द्र खनालले बताए । एमाले र नेकपाले समेत काठमाडौंमा चुनाव लक्षित कार्यक्रम तीव्र पारेका छन् ।
सहरका मतदातालाई गाउँ फर्काउन यातायात, प्रचारप्रसार र खर्च व्यवस्थापनलगायत पक्षमा उम्मेदवारहरू सक्रिय रहेको नेताहरू बताउँछन् । घोषणापत्र तयारीको मागसमेत तीव्र बन्दै गएको छ ।
प्रतिनिधिसभा चुनावका कारण तराईका जिल्लामा चहलपहल बढे पनि पहाडी जिल्लाहरू भने अझै सुनसान छन् । पहाडका भीरपाखा र बस्तीहरू होइन, काठमाडौंका चिल्ला सडक र तराईका सहर नै चुनावी ‘ब्याटल ग्राउन्ड’ बनेका छन् । तीव्र बसाइँसराइको चपेटामा परेका सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, दोलखा, रामेछाप, स्याङ्जा, लमजुङ, दैलेखलगायत पहाडी जिल्लाका दुर्गम गाउँहरू सुनसान नै छन् ।
नेकपा एमालेका उपाध्यक्ष तथा लमजुङका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले चुनावअघिका पूर्वतयारीका काममा उम्मेदवारहरू व्यस्त रहेको बताए । ‘माघ महिनाभर घोषणापत्र तयारी, व्यवस्थापकीय पक्ष सुदृढ बनाउने र सचिवालय तथा चुनावी अभियानका जिम्मेवारी बाँडफाँडमा लागेका छौं,’ उनले भने ।
काठमाडौंलगायत सहरमा बस्ने मतदाता बढी सचेत र जागरुक हुने भएकाले पहिलो चरणमा उनीहरूसँग अनौपचारिक भेटघाट गरिएको उनको भनाइ छ ।
पहाडी जिल्लाबाट शिक्षा, रोजगारी र सेवासुविधाको खोजीमा सहर झर्ने क्रमले निर्वाचनको मौलिक स्वरूप नै परिवर्तन भएको स्थानीय मतदाताहरू बताउँछन् । ‘अब उम्मेदवारहरूले गाउँका पाखापखेरामा पसिना बगाउनुभन्दा सहरका पार्टी प्यालेसमा भेला गरेर भोट सुरक्षित गर्ने अवस्था आयो,’ नेकपा एमालेका नेता विशाल भट्टराईले भने ।
मतदातालाई सहरबाट गाउँ लैजान गाडी रिजर्भ गर्नुपर्ने अवस्थाले निर्वाचन खर्चिलो बन्दै गएको छ । नेपाली कम्युनिस्ट पार्टीका नेता हिमाल शर्माले औपचारिक कार्यक्रम फागुन ४ पछि मात्रै गर्न पाइने भएकाले अनौपचारिक छलफल, मतदाता संवाद र क्याम्पेनिङमा व्यस्त रहेको बताए ।
‘कतिपयले चुनाव हुन्छ कि हुँदैन भन्ने संशय व्यक्त गरे पनि हामी उच्च मनोबलका साथ चुनाव हुने विश्वास लिएर अभियानमा जुटेका छौं,’ शर्माले भने ।
प्रतिक्रिया