सप्तरी : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभाको यो निर्वाचनमा जनताको मत र जीतको असली हकदार जसपा नेपाल मात्रै भएको दाबी गरेका छन् ।
मधेश जनविद्रोहको ऐतिहासिक स्वामित्व, निरन्तरको संघर्ष र सीमान्तकृत जनता केन्द्रीत एजेन्डाको हिसाबले मधेशमा जसपा नेपाल मात्रै जनताको मत र जीतको वास्तविक हकदार रहेको दाबी गरेका हुन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ७, स्थित इटहरीमा शुक्रबार आयोजित चुनावी छलफल तथा भेटघाटको क्रममा अध्यक्ष यादवले भने, ‘कठोर सङ्घर्ष गरेरै अधिकार र अवसर दिलाउने पार्टी जसपा नेपाल हो, त्यसैले बाँकी अधिकारप्राप्तिका लागि जनताको मतको असली हकदार हामी नै हौँ ।’
मधेश जनविद्रोहबाटै मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम लगायत पछाडि पारिएका समुदायको आरक्षण र प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै उनले अबको लडाई अधिकार र विकासका लागि हुने बताए ।
सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उनले शोषित उत्पीडित जनताको अधिकारप्राप्तिका आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिँदै जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र र विकासीय बजेट विनियोजन आवश्यक रहेको बताए ।
प्रतिक्रिया