बनारस प्राचीन कालदेखि नै विद्या, धर्म र सँस्कृतिको मुख्य केन्द्र रहँदै आएको छ। विश्वको सबैभन्दा पुरानो शहर मानिएको काशीको गंगा घाट र सिँढीमा असँख्य व्यक्तिको पाइतालाको डोब मिसिएको छ।
हुन त नेपालीहरु हिन्दु धर्म संस्कृति बनारसका पण्डित, पुजारी र पण्डाहरुले बिगारेको हो भनेर आफ्नो आक्रोस पोखिरहन्छन्। तर बनारसका राम्रा कुरालाई सिक्दैनन् र देखे पनि वास्ता गर्दैनन्।
जुन जातिलाई अछुत भनिन्छ र हेपिन्छ मन्दिरमा प्रवेश गर्न दिन गाह्रो मान्छन्। त्यही जातिका मानिसहरु बनारसमा हेपिएका छैनन्। सुनार र बिश्वकर्मा नेपालमा दलित मानिन्छन् तर त्यही सुनार बनारसमा सर्वत्र भेटिन्छन् र यिनीहरुको आर्थिक स्थिति पनि राम्रो छ।ठूलो र भव्य घरमा बस्ने यी सुनार जातिको घरमा ठूला भनेर कहलिएका ब्राह्मणहरु भाडामा बस्छन्। काशीको कोतवाल नामले प्रसिद्ध छन् कालभैरव।
बनारसको यिनै कालभैरवको मन्दिरमा हरेक शनिवार आइतवार दर्शनार्थीको घुँइचो हुन्छ। स्थानीय र बाहिरबाट आएका तीर्थयात्रीले खचाखच भरिने यो मन्दिर जाने बाटोमा ‘ब्रृजवासी’ नामक भोजनालय छ।
सुनचाँदी र कपडाका ठूला ब्यापारी मानिएका गुजराती सोनावाला सेठले बाहिरबाट आएका तिर्थयात्रीहरुको सुविधाका लागि खोलिएको यो भोजनालय अलिक महँगो छ।
बनारसको प्रसिद्ध कचौडी जिलेबी, इडली, डोसा साम्भर र खानाको थाली यहाँ पाइन्छ। गल्लीमा सीमित बनारसका होटलहरुभन्दा खुला र फराकिलो छ। म पनि यहीँ खाना खाना खान्छु।
अरुलाई महँगोमा खुवाए पनि म सधैँ खाने भएकोले ब्रृजवासी मेरालागि घर जस्तै भैसकेको छ। त्यहाँ मलाई कुनै रोकटोक छैन। पैसा जैले दिए पनि केही फरक पर्दैन। मालिक र त्यहाँका कर्मचारी सबैले मसँग राम्रो ब्यवहार गर्छन्।
ब्रृजवासीमा हरिजन (मेस्तर) ले पूरी बेलिरहेको र छानिरहेको अनि बिश्वकर्माले त्यही खानेकुरा यात्रीहरुलाई उनीहरुको टेबुलमा लगेर बाँडिरहेको दृश्य नेपालीका लागि नयाँ र अनौठो भए पनि त्यहाँ यो सामान्य कार्य हो।
वैष्णव सम्प्रदायका ठाडो श्रीको टीका लगाउने गुजराती मालिकले पनि त्यही मेस्तरले छानेको कचौडी र तरकारी मजाले खाइरहेका हुन्छन्।
बाहिरबाट आएका यात्रीले त खाने नै भए। खै त ती मालिक या तीर्थयात्रीको ‘जात’ गएन? न त ती नर्कै पुगे न ती मेस्तर कर्मचारीसँग कुनै दुर्व्यवहार र भेदभाव नै भाको छ।
सबैकुरा बनारसका पण्डित र पण्डाहरुले बिगारेको भनेर आफु सधैँ पानी माथिको ओभानो बन्ने नेपालका कथित बुद्धिजीवीहरुले यस्ता उदाहरणीय र सह्रानीय कार्यबाट खै के सिके त? तीर्थयात्रीको रुपमा बनारस घुम्न आएका नेपालीहरु त्यहाँ गएर खाइरहेका भेटिन्छन्।
तिनको ‘जात’ तिनीसँगै कायम नै छ त? अनि नेपालमा किन यत्रो भेदभाव र जातिका आधारमा मारकाट र रक्तपात नै मच्चाउनु पर्ने। जात भनेको कामसँग जोडिएको हुन्छ, कथित दलित या निच जातिको शरीरसँग जातको कुनै लेनादेना छैन।
त्यसैले ती अछुत हैनन्। अछुत त हाम्रो दिमाग र सोच हो जसले मान्छे मान्छेको विभेद गरेर फाटो ल्याउँछ। जातीय विभेदको खाडलले कथित नीच भनिएका दलितहरुलाई पुरेर उठ्नै नसक्ने बनाइसक्यो।
पेटजस्तै दिमागमा जात बोकेर हिँडेपछि गरीब निमुखाहरु ठूला जातिको अहँकारको सिलौटोमा सधैँ पिल्सिरहन्छन्। यदि कसैलाई जात र धर्म मान्न नै मन छ भने उसलाई नमान भनेर कर गर्न सकिन्दैन। त्यस्ता धर्मभीरु र जातभीरुहरुले यो बुझ्नु पर्छ कि धर्म पूजाकोठामा र जात भान्साभित्रै रहेमा समाज र देशको कल्याण हुनसक्छ।
घरबाट बाहिर हरेक व्यक्ति एउटा मानवमात्र हो र उसभित्र जात र धर्म हैन कि मानवता भरिएको हुनु पर्दछ।
-बनारस
प्रतिक्रिया