कृष्ण हुमागाईं
राजनीति कुनै पनि देशको मूल नीति हो । सबै नीतिहरुलाई ठीक गर्ने नीति नै राजनीति हो । राजनीति ठीक ढङ्गमा चल्यो भने अरु नीतिहरु ठीक हुँदै जान्छन् । राजनीति बेठिक भए सबै गञ्जागोल हुन्छ ।
राजनीति सधैँ नकारात्मक कुरालाई उचालेर मात्र सफल हुँदैन । राजनीतिमा देश विकासको सैद्धान्तिक, वैचारिक खाकासहित लामो संघर्ष, अनुभव, त्याग, निष्ठा र समर्पण चाहिन्छ । चटकेको जादू खेला जस्तो मान्छे भेला पार्ने र रेला गर्ने क्षणिक मनोरञ्जनस्थल जस्तो बन्नु हुँदैन राजनीति ।
अहिले त राजनीति अनेक थोक, गर्ने–नगर्ने भ्रष्टाचार सबथोक गरेर पैसा कमायो, अनि सादगी जीवनको प्रचार गर्यो, गरायो । त्यतिमात्र होइन, मौका अवसर पाउँदा आफ्नो देशको राष्ट्रियता त्याग्ने र बिदेशको दलाल मात्र होइन, बिदेशी नागरिक हुन राजी–खुसी हुनेहरु सबभन्दा राष्ट्रवादी (?) हुने र जनतामा भ्रमको फसल लगाउने अनि आफ्नो इरादा पुरा गर्ने नयाँ ब्यवसाय शुरु भएको छ ।
द्वन्द्वकालमा नक्कली माओवादी पीडित बनेर अमेरिका पुगी शरणको आवेदन गर्ने, मेक्सिकोको जंगल र समुद्रको बाटो भएर अनेक जोखिम मोल्दै आफैं दलालसँग बिक्री भएर अमेरिका छिर्ने, नक्कली भूटानी शरणार्थी बनेर भ्रष्ट कर्मचारी, बिचौलिया र राजनैतिक नेताहरुको सेटिङ्गमा मोटो रकम बुझाएर विदेशी हुन तयार हुने, डिभी चिठ्ठा भरेर, डिभी परेर अमेरिका जाने जसरी पनि अमेरिकी हुन तयार हुने । तर देशमा रहेको अवस्थामा अमेरिकी साम्राज्यवाद मूर्दावादको नारा लगाउन पछि नपर्नेहरु र तीनका मतियार पनि खुब राष्ट्रवादी भैटोपल्छन् ।
पैसा कमाउनका खातिर देशको राष्ट्रियता त्याग्नेहरु बिदेशी नागरिक भएका हुन् वा विदेशबाट पैसा (डलर) कमाएर आएकहरु सबभन्दा राष्ट्रवादी (?) जनताले गम्भीरतापूर्व मन नगर्नुपर्ने बेला भएको छ । बहकाउमा आएर, लहै–लहैमा लागेर बरालिएर देशको सुदूर भविष्य निर्माण गर्न सकिंदैन ।
राजनीतिमा देश विकास र जनअधिकारको स्पष्ट लक्षसहितको सहनशीलता, धैर्यता, निरन्तरता अति आवश्यक पर्छ । तर, यहाँ त अनेक खाले चटकेहरुले राजनीतिलाई रमिता बनाउन थालेका छन् ।
लामो संघर्ष गरेका भनिएका दलका नेताहरुमा निष्ठा, न्याय, नियम, निसाफको हिसाब–किताब गडबढ हुन थालेपछि नव चटकेहरुको उदय हुनु स्वाभाविक हो । जसको नेपालको लोकतान्त्रिक आन्दोलनमा रत्तिभर योगदान छैन, उ कहिल्ै लोकतान्त्रिक संगठन र आन्दोलनहरुमा संलग्न नै भएन ।
ऐसको जिन्दगी बाँच्नका लागि देशको माटोलाई दुत्कार्यौ मात्र होइन, राष्टियता नै बदलेर डलरका लागि राष्ट्रियता नै त्यागिदियो । ऊ नै अहिले भन्दै छ कि मैले जस्तो त्याग अरु कसैले गर्नसक्छ ? मैले फलानो देशको नागरिकता त्यागिदिएँ । म त्यागी हुँ, मलाई जनताले न्याय गर्नुपर्छ, अनि जनता पनि चटकेको चटकमा लठ्ठ भएर उसैको पछि लागि दिन्छन् ।
जनतामा अरु लोकतान्त्रिक देशको जस्तै प्रणालीको विकास होस् । जनताका यावत् कामहरु छिटे छरितो र बिना झण्झट सम्पादन होस् भन्ने चाहनुलाई अन्यथा मान्नु हुँदैन । नेपालको कर्मचारीतन्त्र भ्रष्ट छ, कमिशनखोर छ । अनि राजनैतिक नेतृत्व पनि त्यस्तै भैदिएपछि जनताले कहाँबाट सुख–सुविध पाउँछन् त ?
जनताले हरेक काममा सास्ती खेप्नु परेपछि मस्ती गरेर बसेका नेता र कर्मचारी प्रशासनकाप्रति आक्रोश र बितृष्णा उत्पन्न हुनु अस्वाभाविक होइन । पुराना भनिएकाहरुप्रति बिश्वास गुम्दै गएपछि जनता नयाँ जोगीको भरमा पर्न थालेका हुन् । राजनीति चटकेको खेल–तमासा होइन, सुझ–बुझपूर्ण निर्णयमा जनताले पनि चनाखो हुनुपर्छ ।
राजनीतिकाप्रति जनताले चासो लिनुपर्छ
कतिपय मानिसहरु मलाई राजनीतिप्रति कुनै चासो छैन, राजनीति मेरो मतलबको विषय होइन भन्ने गर्छन । कुरा यो होइन कि सबैले राजनीति नै गर्नुपर्छ । कुरा के हो भने राजनीतिमा योग्य र सक्षमले भाग नलिने, चासो नराख्ने हो भने खराब र नालायकहरुले शासन गर्न थाल्नेछन् ।
राजनीतिमा आम सर्वसाधारणले चासो नलिनु र सहभागिता नजनाउनु भनेको भ्रष्ट, बिचौलिया, डन–गुण्डाहरु, माफियाहरु, धनी पूँजीपति र दलालहरुलाई सत्ताको चावी जिम्मा लगाउनु हो ।
हाम्रो जस्तो गरीब मुलुकमा देशलाई गरीबीको चपेटाबाट मुक्त राख्ने हो भने गरीबीको पीडा बुझेका, निम्न मध्यम, मध्यम वर्ग र बिपन्न वर्गले राजनीतिमा सहभागित जनाउनै पर्दछ ।
जीवनकाप्रति कसैलाई प्रेरणा दिनुपर्दा महान समाजवादी नेता बीपी कोइराला भन्ने गर्नुहुन्थ्यो– ‘ठूलो मान्छे होइन, असल मान्छे बन्नु ।’ अनि मन्त्री, प्रधानमन्त्री बनौंला र ठूला–ठूला कुर्सीमा पुगौंला भनेर राजनीति गरेका होइनौं पनि भन्नुहुन्थ्यो ।
खान नपाएको पेटमा अन्न जाओस्, सबै बिरामीले ओखतीमूलो पाउन्, सबैका छोराछोरीले पढ्न पाउन्, मनमा लागेको कुरा सबैले निर्भयकासाथ बोल्न, भन्न पाउन् भनेर नै हामी राजनीतिमा आएका हौं भन्ने महामानव बीपी कोइरालाको आदर्श वाणीलाई आजको नेपाली राजनीतिले गिज्याइरहेको छ ।
अहिले त राजनीति भनेको बिना लगानीको फाइदाजनक ब्यापार बनाइएको छ । समाजवाद र साम्यवादको नारा लगाएर नथानक्नेहरु नै सबैभन्दा भ्रष्ट, दलाल बनेर नाङ्गिदैछन् । लोकतन्त्रमा आवधिक निर्वाचनले खराबहरुलाई पाखा लगाउने र असलहरुलाई जनताले स्थापित गराउने मान्यता राखिन्छ ।
पछिल्लो समय ठूला–ठूला भ्रष्टाचारमा मुछिएकाहरुले चुनाव जित्ने र इमान्दारहरुले चुनाव हार्ने स्थिति आएको छ । यो चाहिँ लोकतन्त्रभित्रको अकरिलो पिँढीका रुपमा देखा पर्दै गएको छ, जुन कुरा लोकतन्त्र र देशको सुदूर भविष्यका लागि त्यति सुखद् विषय होइन ।
अहिले यिनै भ्रष्टमति भएका नालायकहरुको काला कर्तुतलाई देखाएर लोकतान्त्रिक प्रणाली नै खराब हो भन्ने भाष्य निर्माण गर्न लोकतन्त्र बिरोधीहरु, पूर्व दरबारिया षडयन्त्रकारी गिरोह र प्रतिगामी एकदलीय अभिनायकवादीहरु लागिपरेका छन् ।
उनीहरु जनताले निर्वाध स्वतन्त्रता उपयोग गरेको देख्न, हेर्न सक्दैनन् । चाहँदैनन् । बन्द समाजभित्र हुकुम चलाउनू र हुकुम प्रमाङ्गीबाट शासकले शासनसत्ता चलाउएको हेर्नु, भोग्नु दास र अनुचरहरुलाई उचित लाग्दछ ।
स्वतन्त्रताप्रेमीहरु एक्काइसौं शाताब्दीका विश्व मानवले अवलम्वन गरेको ‘जनताका लागि, जनताद्वरा जनताले नै गर्ने शासन’ लाई रुचाउन चाहिरहेका छैनन् । तर पनि लोकतान्त्रिक प्रणालीमा भने उयोगको रणनीतिअन्तर्गत भाग लिइरहेका छन् ।
कुनै एउटा तानाशाह वा राजा–महाराजा वा कुनै एउटा पार्टी विषेशले मात्र जनताबाट अनुमोदन नभई शासनसत्ता बर्षौं, पुस्तौं चलाउने सोच भएकाहरु नै हुन् प्रतिगामी र अधिनायकवादी ।
आजको आधुनिक सभ्य युगमा पनि यस्ता प्रतिगामी र अधिनायकवादी सोच राख्ने मानिस असभ्य मात्र होइन, मानसिकरुपमा समेत अविकसित प्राणी हो ।
तसर्थ राजनीतिमा यस्ता प्राणीहरुको आगमनलाई रोक्न अनि सभ्य र लोकतान्त्रिक संस्कारयुक्त राजनीतिमार्फत् जनताका मुहारमा हर्ष ल्याउन सुखी र खुसी नेपाली अभियान सञ्चालन गर्नपनि लोकतान्त्रिक सोच भएका असल मानिसहरु राजनीतिमा आउनु पर्दछ ।
गन्हाएका भ्रष्टहरु, प्रतिगामी, पुनरुत्थानवादी, अधिनायकवादीहरुलाई राजनीतिको मूलधारबाट जनमतबाटै विस्थापित गरेर असल लोकतान्त्रिक संस्कार, पद्दति र प्रणालीको स्थापनका लागि लोकतन्त्रको आवरणमा देखिएका यावत् बिकृति, बिसंगतिलाई हटाउन पनि राजनीति फोहोरी भयो भनेर मात्र हुँदैन ।
फोहोरबाट मुक्ति दिलाएर राजििनतलाई रफा राख्ने हो भने हरेक असल मानिस राजनीतिमा आउनु पर्छ । राजनीतिमा चासो राख्नुपर्छ । सबै नीतिहरुको पनि मूल नीति सफा नभई देश बन्न र जनताको जीवनस्तरमा सुधार आउन सक्दैन । त्यसैले राजनीतिकाप्रति जनताको चासो हुनुपर्छ ।
चासो लिनु भनेको जादूगर वा चटकेलेले हटियामा काला जादू देखाउँदा भेला जम्मा भएर रमिता हेर्न भेला भए जस्तो सहभागिताको केही अर्थ छैन । अब राजनीतिमा देशभक्त लोकतन्त्रवादीहरुले बिवेकपूर्ण हस्तक्षेप गर्नुपर्छ । राजनीति क्षणिक मनोरञ्जन दिने चटकेको चटक होइन ।
प्रतिक्रिया