कलाकार संघको अध्यक्षमा शालिक सताशक राई, ६ बुँदे धरान घोषण पत्र सार्वजनिक

मंगलबार, १६ जेठ २०८०
धरान । किरात राई साँस्कृतिक कलाकार संघको केन्द्रीय अध्यक्षमा शालिक सताशक राई सर्वसम्मत चयन भएका छन् । कलाकार संघको जेठ १३, १४ र १५ गते सुनसरीको धरानमा सम्पन्न भएको छैठौं राष्ट्रिय सम्मेलनबाट शालिक सताशक राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । कलाकार संघका उपाध्यक्षत्रयमा रोशन चाम्लिङ, सुशिला राई र राई नबिन, महासचिबमा पदम थुलुङ राई चयन भएका छन् । यसैगरी सचिवत्रयमा मुकेश राई, सुखकला राई र डिबि राई, कोषाध्यक्षमा मेनुका राई, सह–कोषाध्यक्षमा खुशेनिछो चाम्लिङ राई चयन भएका छन् । सदस्यहरुमा राजु के राई, अर्जुन कुलुङ राई र अनुका राई सर्वसम्मत चयन भएको संघका निवर्तमान अध्यक्ष रामकर राईले जानकारी दिए । संघका उपाध्यक्ष राई नबिनका अनुसार बाँकी रहेको पदहरुमा संघको पूर्ण बैठकबाट आवश्यकता अनुसार पदपुर्ति गर्दै लगिने छ । ६ बुँदे धरान घोषणा–पत्र २०८० सार्वजनिक किरात राई साँस्कृतिक कलाकार संघको छैठौं राष्ट्रिय सम्मेलनले ‘६ बुँदे धरान घोषणा–पत्र’ समेत सार्वजनिक गरेको छ । कलाकार संघले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी ६ बुँदे धरान घोषणा–पत्र २०८० सार्वजनिक गरेको हो । घोषणा–पत्रमा प्रदेश नं १ लाई किरात प्रदेश नाम स्थापित गर्न विभिन्न प्रकारका साँस्कृतिक, राजनितिक तथा रचनातमक रुपमा आन्दोलन गर्ने, किरात मौलिक गीत संगीत, जीवन व्यवहार पद्धतिको खोज अध्ययन र अनुसन्धान गरी दस्तावेजीकरण गर्दै जाने, किराती समुदायसंग समारिक महत्व राख्ने गढी कोट ऐतिहासिक स्थल, सस्कृति, मुन्धुमी सस्कारहरुलाई विभिन्न माध्यमबाट संरक्षण, सम्बर्द्धन, प्रवर्द्धन र अध्यायन अनुसन्धान गर्दै जानेलगायत रहेको कलाकार संघका नवनिर्वाचित अध्यक्ष शालिक सताशक राईले जानकारी दिए । ‘कलाकार संघको अब कार्यदिशा हामीले धरान घोषणा पत्र भनेर ६ बुँदामा उल्लेख गरेका छौं’ कलाकार संघका नवनिर्वाचित अध्यक्ष राईले भने ‘यसैको आधारमा हाम्रो कामलाई निरन्तर अगाडि बढाउँछौं ।’ तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा काठमाडौं, भक्तपुर, ललितपुरसहित पूर्वका १४ जिल्लाबाट कलाकार संघका प्रतिनिधि, पर्यवेक्षक, किरात राई जातीको अध्येताहरुको सहभागीता थियो । धरानको भानुचोकमा साँस्कृतिक झाँकीसहित भएको तीन दिने राष्ट्रिय सम्मेलनको उद्घाटन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हताचो राईले गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार