दिपेन्द्र अधिकारी
न लोभ न चिन्ता आनन्दका गुरू
जति मिल्छ जो त्यसैमा सन्तोषी
स्कुलमा सबैले भन्ने नामै हो ‘टन्न गुरू’
खाना खानु भयो गुरू ?
अँ टन्न खाएँ
खाजा खानु भयो गुरू ?
अँ टन्न खाएँ
चिया पिउनु भो गुरू ?
अँ टन्न पिएँ
ती फुर्तिला पाइलालाई
पछ्याउँदै म
तनहुँको बुच्चा खानीमा
जब भर्खर म आमाको काख
छोड्ने बेलामा
मध्यरातमा आमा आमा
भन्दै पुकार्ने यो बालक
भोलिपल्ट फेरि बाबाको औँलो समाउँदै
मित बा मित आमा
म जत्रै
मितसँग रमाउँदै
बर्णमालाको कखरा कण्ठै
बाबा बाबा भन्दै सुनाउँदा सुनाउँदै
मितिनि आमाले दिएको
दुधमा घिउ राखेको सुपुक्क
पिएर लुपुक्क निदाउने बानी पर्दै थियो ।
बाबाको सरूवाको आदेश आएछ
सँगै मेरो पनि त सरूवा
तनहुँकै बुचाबाट काउॅ
जाउँ कि नजाउॅ ?
दुई वर्ष आमाको काखमा
छोडेर जानु त भयो
फेरि सँगै लानु भयो
भेट भयो नयाँ साथी
नयाँ परिवार
आज पनि सम्झना आइरहन्छ
प्रदिप दाइ अनि बैनीहरूको
घरबेटी बाबा आमाको ।
त्यो भीरको उकालीमा
मलाई घोडा चडाउँदै
बाले घोडा डोर्याउँदै
जीवन सिकाउनु भयो
संघर्ष सिकाउनु भयो
संबैलाई प्रेम गर्न सिकाउनु भयो
सायद यो ८–९ वर्षको
उमेरबाटै होला
म भात आफैँ पकाउँथेँ
आफ्ना कपडा आफैँ धुन्थेँ
आफैँ नुहाउँथे तर
आफैँ कम पढ्थेँ
पढ्न फेरि बा नै चाहिने
अल्छी थिएँ रे
टोलाएर हराउँथेँ रे
तर भनेको भने मान्थे रे
बालपनका कुरा
आज पनि ताजा छन्
७४ वर्षका बा आज पनि उस्तै
कविता लेख
मुक्तक लेख
गीत लेख भन्नु हुन्छ
लेखेर पोस्ट गरे
तुरून्तै पढ्नु हुन्छ
अनि बा भन्नुहुन्छ
सबै पढेँ छोरा...
हजुर मेरा बा ।
प्रतिक्रिया