आरोहण गुरुकुलमा आज ‘कोपिला’ मञ्चन हुँदै

आइतबार, २४ भदौ २०८०
विराटनगर । शुक्रबारदेखि शुरुभएको विराटनगर विद्यालय नाटक महोत्सव २०८० मा शनिबार आधा सत्य नाटक मञ्चन गरिएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा शुरु भएको महोत्सवमा हाटखोलास्थित बालकृष्ण पोखरेल नाटकघरमा मोर्डन एरा ईङ्गलिस स्कुलले नाटक मञ्चन गरेको हो । सुरज कुमार माझीको निर्देशनमा तयार भएको उक्त नाटक बाल मनोविज्ञानमा आधारित थियो । जसमा अनिषा थापा, साईसा विष्ट, साइमन कार्की, एन्जल पौडेल, आर्यन बानियाँ लगायतले अभिनय गरेका थिए । आइतबार ग्रिनल्याण्ड सेकेण्डरी स्कुलको नाटक कोपिला मञ्चन हुने भएको छ । दैनिक दिउँसो २ बजे भाद्र ३१ गतेसम्म हुने महोत्सवमा आयोजक आरोहण गुरुकुलको एउटा र विराटनगरका ९ वटा विद्यालयका एक–एक वटा गरी कूल १० वटा नाटक मञ्चन हुँदैछन् । महोत्सवमा भाद्र २५ गते ग्रेडेड स्कुलको नाटक तीतो बोली सच्चा गुण, २६ गते जेसी बाल सदनको नाटक अबोध मञ्चन हुनेछ । त्यस्तै २७ गते लिलिपुट स्कुलको नाटक चम्किला अनुहारहरु, २८ गते हेरिटेज स्कुलको नाटक विछोड, २९ गते पूर्वाञ्चा्ल विद्या सदनको नाटक स्वाद, ३० गते जनपथ माध्यमिक विद्यालयको नाटक खैराँती मास्टर र ३१ गते कान्तिपुर स्कुलको नाटक आमा मञ्चन हुने जनाइएको छ । रंगकर्मी खेम नेपाली, साहित्यकार सुमन पोखरेल र रंगकर्मी सुनीता घिमिरेको निर्णायक समितिले सहभागी ९ विद्यालयहरुमध्येबाट एक–एक उत्कृष्ट नाटक, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री छनोट गर्नुहुनेछ, जसलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । विद्यालय नाटक महोत्सवको पहिलो र दोस्रो संस्करण वि.सं. २०७६ र २०७९ सालमा गरेको गुरुकुलले तेस्रो संस्करणका रुपमा “विराटनगर विद्यालय नाटक महोत्सव २०८०” आयोजना गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार