मुम्बई : बलिउड ‘किङ’ शाहरुख खानले आफ्नो करियरमा दिएको सफलता पछाडि एउटा अनौठो अन्धविश्वास रहेको खुलासा गरेका छन्। उनका अनुसार, उनले जुन फिल्ममा धेरै दौडनुपर्ने दृश्य गरेका छन्, ती फिल्महरू प्रायः सुपरहिट हुने गरेका छन्।
सन् १९९७ मा रिलिज भएको सुपरहिट फिल्म ‘कोयला’ को पर्दा पछाडिको अनुभव सुनाउँदै शाहरुखले यस अन्धविश्वासबारे उल्लेख गरेका हुन्।
राकेश रोशन निर्देशित उक्त एक्सन थ्रिलरमा शाहरुखका साथमा माधुरी दीक्षित,अमरीश पुरी र जोनी लिभरजस्ता कलाकार थिए। फिल्म बक्स अफिसमा निकै सफल भयो र शाहरुखले यसको श्रेय आफूले फिल्ममा खेलेको खतरनाक र दौडधुपपूर्ण दृश्यलाई दिएका छन्।
शाहरुख भन्छन्, “मेरो जीवनमा सधैँ एउटा महत्त्वाकाङ्क्षा थियो कि एउटा यस्तो फिल्म गरूँ, जसमा म दौडेर घाइते हुन्छु। कोयलाको 'देखे तुझे...' गीतको सुटिङमा म हावामा उफ्रिएर भुईँमा लडेँ र घुँडामा चोट लाग्यो।’’ उनले यो अनुभव ‘दुःस्वप्न’ जस्तै भएको भन्दै यस्ता स्टन्ट अब नगर्ने बताएका छन्।
लेहरेनसँगको कुराकानीमा उनले थप खुलासा गरे, “म जुन फिल्ममा दौडन्छु, त्यो हिट हुन्छ। करण अर्जुनमा सलमानले भन्यो ‘भाग अर्जुन भाग’, म दौडेँ, फिल्म हिट भयो।
दिलवालेमा केटीको पछि दौडेँ, त्यो पनि हिट। कोयलामा त झन् म धेरै दौडेँ—कुकुरको पछि, खलनायकको पछि, रेलको पछि। म हेलिकप्टरबाट भागेँ, शरीरमा आगो लगाएँ।”
शाहरुखको विश्वास अनुसार ‘दौडनु’ उनको सफलता ‘मन्त्र’ बनेको छ। उनले हाँस्दै भने, “त्यसैले यो फिल्ममा पनि म धेरै दौडेँ, र कोयला हिट भयो। तर अब म यस्ता दृश्य दोहोर्याउन चाहन्न।”
शाहरुखको यस अनौठो अन्धविश्वासले बलिउडमा चर्चा पाएको छ, र उनका फ्यानले पनि ‘किङ खान’का दौडधुपपूर्ण दृश्यहरूलाई निकै रुचाएका छन्।
प्रतिक्रिया