गुरुकुलमा ‘तितो बोली सच्चा गुण’

सोमबार, २५ भदौ २०८०
विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव २०८० मा सोमबार ‘तितो बोली सच्चा गुण’ नाटक मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा ग्रेडेड इङ्गलिस मेडियम सेकेण्डकरी स्कुलले लकेश दंगालको निर्देशनमा तयार भएको नाटक मञ्चन गरेको हो । निर्देशक दंगालले कक्षा ७ को अनिवार्य नेपालीमा समावेश रामविक्रम सिजापतिको कथालाई नाट्य रुपान्तरण गरी विद्यार्थीहरुलाई अभिनय गराएका हुन् । नाटकले मानिसको बोल्ने शैली कै कारण भेदभाव गर्नुहुँदैन भन्ने सन्देश दिएको थियो । नाटकमा विद्यालयकै प्रश्रय विष्ट, मनिषा राजवंशी, कृतिका यादव, अनुष्का बराल, नेहा सिंह, सृष्टि सोरेन लगायतले अभिनय गरेका थिए । मंगलबार भने जेसी बालसदन माध्यमिक विद्यालयको नाटक ‘अबोध’ मञ्चन हुनेछ । दैनिक दिउँसो २ बजे नाटक मञ्चन गर्दै जारी महोत्सव भाद्र ३१ गतेसम्म चल्नेछ । महोत्सवमा विराटनगरका ९ विद्यालयले एक–एक नाटक मञ्चन गर्दैछन् भने उत्कृष्ट नाटक, अभिनेता र अभिनेत्रीलाई अवार्ड पनि प्रदान गरिने आयोजक आरोहण गुरुकुल विराटनगरले जानकारी दिएको छ । भाद्र २७ गते लिलिपुट स्कुलको नाटक चम्किला अनुहारहरु, २८ गते हेरिटेज स्कुलको नाटक विछोड, २९ गते पूर्वाञ्चाल विद्या सदनको नाटक स्वाद, ३० गते जनपथ माध्यमिक विद्यालयको नाटक खैराँती मास्टर र ३१ गते कान्तिपुर स्कुलको नाटक आमा मञ्चन हुने जनाइएको छ । विद्यालय नाटक महोत्सवको पहिलो र दोस्रो संस्करण वि.सं. २०७६ र २०७९ सालमा गरेको गुरुकुलले तेस्रो संस्करणका रुपमा “विराटनगर विद्यालय नाटक महोत्सव २०८०” आयोजना गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार