विराटनगर । यस वर्षको महाशिवरात्रीमा प्रदर्शन गर्ने लक्ष्यसहित नेपाली चलचित्र ‘रङ्गेली’ को छायाङ्कन मङ्गलवारदेखि सुरु भएको छ ।
सुनसरीको इटहरीमा चलचित्रको पहिलो शट लिइएको छ । पहिलो शट कलाकार शेखर चापागाईले दिएका छन् ।
रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोडमा चलचित्रको छायाङ्कन हुने निर्देशक अर्जुन सुवेदीले बताए ।
सोमवार मोरङको रङ्गेलीमा रहेको कालीमन्दिरमा स्कृप्ट तथा क्यामरा पूजा गर्दै शुभमुहूर्त भएको थियो ।
अभिनेता प्रवीण खतिवडाको छायाङ्कन सुरु भएको छ । प्रमुख कलाकारमध्ये अर्पण थापा, मिरुना मगर र रमेश बुढाथोकी बुधवार छायाङ्कन स्थल पुग्नेछन् भने अर्को हप्ता दयाहाङ राई पुग्नेछन् । उनी हाल क्यानाडामा छन् ।
यस चलचित्रको सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्वप्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’ मा लाइभ छायाङ्कन हुनेछ । नेपाली चलचित्रले पहिलोपटक यस प्रकारले गीत छायाङ्कन गर्न लागेको हो ।
सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ । चलचित्रका अन्य गीतहरूमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहनेछ ।
फागुन २५ गते रिलिज हुने यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको प्रमुख भूमिका रहनेछ ।
चलचित्रका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् । कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुजजङ्ग थापा हुन् । यसमा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह–निर्माता हुन् । बिबेक खड्का (योलो) एशोसियट निर्माता हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन् ।
प्रतिक्रिया