लोकतन्त्रमा सत्तामा रहनेले गरेका गलत कार्यको आलोचना हुनु स्वभाविक हो, तर समग्र लोकतान्त्रिक प्रणालीलाई दोष दिने र जनताको अपार सहभागिता र संघर्षबाट स्थापित व्यवस्थाको विरोधमा जनतालाई भ्रमित, दिग्भ्रमित बनाएर अचेतन आक्रोशबाट स्वार्थको आगो फुक्न उद्यत लोकतन्त्र विरोधी प्रतिगामी, पुनरुत्थानवादी, राष्ट्रघातीहरुको कुप्रचारबाट जनतालाई वास्तविक कुरा बुझाएर लोकतन्त्रको संरक्षण गर्नु पनि देशभक्त स्वाभिमानी नेपाली नागरिक र राजनीतिक दलहरु कै कर्तव्य हो । यसका लागि राजनीतिक दलहरुमा जनताले पत्याउन सक्ने सदा जीवन, उच्च विचार शैलीको नेतृत्वको विकास आजको अपरिहार्य आवश्यकता हो ।
राजनीतिमा मात्र होइन जनताको दैनिकी र व्यवहारिक जीवनमा पनि भ्रमपूर्ण सूचनाले अज्ञानताको प्रदूषण बढाइरहेको छ । सामाजिक सञ्जालमा आउने अनेक प्रकारका गलत सूचनालाई भेरिफाई गर्न नसक्दा धेरै मानिस भ्रमलाई नै सत्य ठानेर, मानेर आधुनिकताको बन्दी बनि अन्धकारको युगमा फँस्दैछन् । कुनै पनि कुरा सञ्जालमा आउना साथ सबै सत्य नै हुन्छ भन्ने छैन । यसका लागि सार्वजनिक भएका, गरिएका सूचना, सन्देशहरु कति आधिकारिक हुन् भनेर जान्नका लागि आधिकारिक न्यूज पोर्टलहरुबाट क्रस चेक गर्नुपर्छ । यसो नगर्दा मानिस एकल सूचना वा भ्रमपूर्ण र गलत सूचनाको मारमा पर्दछ । अनि त्यही गलत सूचनालाई आधार मानेर दिने अभिव्यक्तिले मानिसको व्यक्तित्वलाई पनि घटाइरहेको हुन्छ । गलत र सही छुट्यान नसक्नेहरुका बीचमा भ्रमको पण्डित्याइँ छाँट्न सकिएला, तर विज्ञ समूहका सामुन्नेमा त पर्दाफास भइहाल्छ । यस्तो अवस्थामा कि त जानाजान भ्रमको व्यापार गर्नेहरुले समाजलाई गलत बाटोमा लाने योजनबद्ध दुष्प्रयास गरिरहेको थाहा हुन्छ । या कुरै नबुझी हल्लाको पछि दौड्ने नेपाली समाजभित्रको हावादारी जमात पनि यही सूचना प्रविधिको दूरुपयोले बढीहेको छ भन्ने पुष्टि हुन्छ ।
प्रतिक्रिया