इलाम, कात्तिक : आगामी माघ ६ गतेदेखी प्रथम इलाम गोल्डकप हुने भएको छ । रेडहर्ष फूटबल क्लब इलामको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
बिदेशी तीन टीम र नेपालका पाँच गरि आठवटा टीमको सहभागिता हुने फूटबल क्लबका सचिव प्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार खेलाडी उत्पादन र खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
क्लबले इलाम सदरमुकाममा शुभकामना आदानप्रदान कार्यक्रम सहित गोल्डकप आयोजना गर्ने सार्वजनिक गरेको हो ।
इलामबाट खेलाडी उत्पादन गर्दै आएको क्लबले प्रतियोगिता आयोजना गर्न लागेको क्लबका सदस्य निरोज खड्गीले जानकारी दिए । उनले पहिलो प्रतियोगिता गर्न लागेकाले पनि सहयोगका लागि सबैलाई आग्रह गरे ।
प्रथम हुने टीमलाई नगद पाँच लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने छ भने उपबिजेता टीमलाई नगद दुई लाख पचास हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।
यस्ता प्रतियोगिताले खेल क्षेको विकास हुने भन्दै माइभ्याली फूटबल क्लबका कोषाध्यक्ष कमल सुवेदीले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरे ।
शुभकामना कार्यक्रममा इलाम नगरपालिका वडा नम्वर सातका वडाध्यक्ष नरेश श्रेष्ठले यस अघि नै आफुले प्रतियोगिता सञ्चालनका लागि एक लाख सहयोग गर्ने बताएको भन्दै रकम उपलब्ध गराउने प्रतिवद्धता गरे । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपालीहरुका महान चाडपर्वको अवसरमा शुभकामना ब्यक्त गरे ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाले समेत सहयोग गर्ने बताएका छन् । उनले खेल क्षेत्रको विकासका लागि रेडहर्ष फूटबल क्लबले इलाम जिल्लालाई नै चिनाएको भन्दै प्रतियोगितामा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमका प्रमुख अतिथी तथा इलाम प्रतिनिधि सभा क्षेत्र नम्वर एकका सांसद महेश बस्नेतले फूटबल प्रतियोगिताले खेलकुदको मात्र विकास नभइ समग्र क्षेत्रको विकास हुने बताए । इलाम नगरपालिकाका निवर्तमान प्मुख समेत रहेका उनले नगरलाई खेल क्षेत्रमा समृद्ध बनाउन आफ्नो पालामा प्रत्येक वडामा एउटा खेल मैदान निर्माणको काम थालेको बताए । उनले हालका मेयरलाई निर्माणाधिन खेलमैदानलाई ब्यवस्थित गराउन र थालिएका काम सम्पन्न गर्न आग्रह समेत गरे ।
कार्यक्रम क्लबका वरिष्ठ उपाध्यक्ष नविन तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । शुभकामना आदानप्रदानसँगै चियापान कार्यक्रकको आयोजना गरिएको थियो ।
प्रतिक्रिया