इलाम : राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेलले सामाजिक सञ्जालमार्फत प्रलोभन देखाएर महिला हिंसा हुने क्रम बढेको बताएकी छन् । पछिल्लो समय महिला बेचबिखन र हिंसा बढ्नुको मुख्य कारण सामाजिक सञ्जालको दुरुपयोग भएको उनको भनाई छ ।
राष्ट्रिय महिला आयोगले इलाम सदरमुकाममा मंगलबार आयोजित बिद्यालयस्तरमा हुने महिला हिंसा निवारणको सम्बन्धमा शिक्षक, विद्यार्थी, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुसंगको अभिमुखिकरण कार्यक्रममा बोल्दै आयोगकी सदस्य पौडेलले विद्यालयस्तरमा महिला तथा किशोरी हिंसाको घट्ना बढेका बताइन् ।
त्यस तर्फ आयोगको ध्यानाकर्षण भएको समेत उनको भनाई छ ।
महिला हिंसाका घट्नाका उजुरी आउनेक्रम अत्याधिक बढेको र उजुरी परेका अधिकाशं घट्नामा सामाजिक सञ्जालको दुरुपयोग भएको देखिएको पौडेलको भनाई थियो ।
महिला तथा वालवालिकालाई सबैखाले हिंसाबाट बचाउनका लागि महिला आयोगले देशब्यापी सचेतना मुलक अन्तरक्रिया कार्यक्रम गर्दै हिँडेको समेत सदस्य पौडेलले बताइन् ।
कार्यक्रमका इलाम नगरपालिकाकी उपमेयर बिष्णु दाहाल लिम्बूले महिला हिंसाका विभिन्न रुप देखा पर्न थालेको उल्लेख गरिन् ।
लैंगिक हिंसा न्युनिकरण गर्नका लागि स्वयम समाज समेत लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताए । उनले एक पक्षबाट मात्र यस्ता हिंसा अन्त्य नहुने उनको भनाई छ ।
कार्यक्रममा यौन दुब्र्यबहार घट्नामा ८० प्रतिशत परिवारका सदस्यहरुको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख बासुदेव खतिवडाले बताए । इलामको महिला हिंसाका घटनाको तीनबर्षे तथ्याङ्क प्रस्तुत गर्दै प्रमुख खतिवडाले इलाममा महिला तथा बालबालिकामाथि हुने हिंसा घट्दै गएको तथ्याङ्क भएपनि डर, त्रास तथा समाजमा अपमानित हुने भयले हिंसाका घट्ना सार्वजनिक हुन नसकेको उल्लेख गरे ।
उनले सामाजिक हिंसा, आर्थिक हिंसा, सांस्कृतिक, धार्मिक र यौन जन्य हिंसाका बारेमा जानकारी सहितको कार्यपत्र प्रस्तुत गरे ।
जिल्ला शिक्षा समन्वय इकाइ इलामका डम्बर सुबेदीले बिद्यालयमा बालबालिका÷किसोरी सुरक्षाको अवस्था, बिद्यालयमा हुनसक्ने लैङगिक हिंसा र न्यूनिकरणका बिषयमा कार्यपत्र प्रस्तुत गरे का थिए ।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष बिप्लव भट्टराईले समाजमा हुने कुनै पनि हिंसा न्युनिकरण गर्न राज्यको तर्फबाट उचित पहल हुनु पर्ने बताएका थिए ।
कार्यक्रममा बिभिन्न बिद्यालयका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया