इलाम : इलामको फाकफोकथुम ४ फुएतप्पामा जारी फुटबल प्रतियोगिताको उपाधि खेलकुद विकास समिति फाकफोकथुम ४ फुएतप्पाको पोल्टामा परेको छ । मङ्गलवार भएको फाइनल खेलमा आयोजक फुङ्नाम युवा क्लबलाई शून्यका विरुद्ध दुई गोल गर्दै फुएतप्पाले नगद ५५ हजार, पाँच सय ५५ सहित मेडल र प्रमाणपत्र हात पारेको हो ।
जितका लागि ओसन राई र रोशन धिमालले एक एक गोल गरेका थिए । फुङ्नाम युवा क्लबले दोस्रो स्थान सहित २५ हजार पाँच सय ५५ मा चित्त बुझायो ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि तथा नेपाली काँग्रेसका जिल्ला सभापति डम्बर खड्काले पुरस्कार वितरण गरे ।
उनले पुरस्कार वितरणसँगै सो क्षेत्रको विकासका लागि केन्द्र सरकारसमक्ष आफूले पहल गर्ने बताए । उनले हाल सो स्थानमा रहेको खेल मैदान सानो भएका कारण खेलाडीहरूलाई समस्या भएको भन्दै मैदानको स्तर उन्नतिका लागि पहल गर्ने प्रतिबद्धता जायर गरे ।
चासोक तङ्नामका अवसरमा मेला समेत लागेको थियो । मेलामा स्थानीय उत्पादन तथा परिकार बिक्रीका लागि राखिएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
प्रतिक्रिया