नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता साझेदारीका क्रममा प्रधानमन्त्री र सभामुख आलोपालो गर्ने सहमति भइसकेको छ । सोही अनुसार प्रचण्ड प्रधानमन्त्री भएपछि सभामुख एमालेबाट हुने भएको छ । तर, एमालेबाट सभामुख को हुने भन्ने विषयमा अझै टुङ्गो लाग्न सकेको छैन ।
यस्तै उपसभामुखमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरेका छन् । अहिलेसम्म उपसभामुख पद कसले पाउने भन्ने पनि गठबन्धनभित्र टुंगो लागिसकेको छैन ।
एमालेले सभामुख पाउने भएपछि पार्टीभित्र आकांक्षीहरु लविङमा लागेका छन् । अध्यक्ष ओलीले सभामुख बन्न सुवास नेम्वाङलाई प्रस्ताव गरेका थिए । नेम्वाङले राष्ट्रपतिमा जाने इच्छा देखाएपछि ओलीले अहिलेसम्म अन्य कुनै नेतालाई सभामुखका लागि प्रस्ताव गरेका छैनन् ।
सभामुख बन्न एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य विद्या भट्टराईले इच्छा देखाएका छन् । पार्टीका उपमहासचिव गुरुङले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री समेत भइसकेकाले सभामुख बन्न योग्य रहेको बताउने गरेका हुन् ।
यस्तै रुपन्देही–१ बाट निर्वाचित पार्टी सचिव छविलाल विश्वकर्माले पनि सभामुखमा दाबी गरेका छन्
राप्रपाले प्रदेशमा एउटामात्र भए पनि सभामुख पाएकाले संघीय संसदको उपसभामुख रास्वपाले लिन सक्ने देखिएको छ । तर, राप्रपाले उपसभामुख पद सजिलै छोड्ने अवस्था देखिएको छैन । उता रास्वपाले उपभामुख पाएमा सोविता गौतमलाई बनाउने तयारी गरेको छ ।
कानुन विषयमा जानकार भएकाले गौतमलाई उपभामुख बनाए प्रभावकारी हुने नेताहरुको बुझाइ छ । तर, प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सभामुख एमालेले लिने सहमति भए पनि उपसभामुख कसले लिने भन्ने विषयमा टुंगो लागिनसकेको बताइन् ।
प्रतिक्रिया