इलाम / झापाको दमकबाट इलामको माङसेबुङ हुँदै चिसापानी पञ्चमी जोड्ने दमक–चिसापानी सडक फाल्गुननन्द मार्ग निर्माण सुरु भएको तीन दशक बित्यो ।
फाल्गुननन्द मार्ग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छ, भने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।
तीन दशक बितिसक्दासमेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन । रतुवा खोला किनारमा खुलेको ट्र्याकमा सवारी साधन सञ्चालनबाहेक केही प्रगति भएको छैन ।
दमकबाट घर्ती दोभानसम्म सोही खोलको ट्र्याकमा गाडी चलेका छन् तर सामान्य वर्षा हुनासाथ आवतजावत नै ठप्प हुन्छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमक झापा र पूर्व संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र माङसेबुङ इलाम जोड्ने सडक निर्माणले पूर्णता पाउन नसकेको हो ।
ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक निर्माणले गति लिन नसकेको हो ।
तेत्तीस किलोमिटर दूरीको सो सडक कालोपत्रेका लागि ठेक्का लागेको पनि पाँच वर्ष बितिसक्यो ।
ठेक्काको समय बारम्बार थपिँदासमेत काम भएको छैन । सडक चौडा गर्दै कालो पत्र गर्नुपर्नेमा त्यसो गरिएको छैन । तीन खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्ने गरी ठेक्का लागेको थियो ।
पहिलो खण्ड अन्तर्गत दमकको पहिलो बिन्दुबाट सात किलोमिटर सडक कालो पत्र गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २०७५ साल साउन अन्तिममा सम्झौता गरेको थियो । उक्त कम्पनीले रु २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएर काम नगरेको हो ।
चार पटक म्याद थप भएको र अन्तिम पटक थपिएको म्याद गत असार मसान्तमा सकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
राजमार्गको दोस्रो खण्ड १५ किलोमिटर सडक रु ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड ११ किलोमिटर सडक रु ५९ करोड १५ लाख ३५ हजारमा निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो ।
दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा २८ प्रतिशत काम भएको सडक डिभिजन कार्यालय इन्जिनियर गौतमकुमार देवले जानकारी दिए । समग्रमा ३३ किलोमिटर सडकमा ५० प्रतिशत मात्र काम भएको उनले बताए ।
प्रतिक्रिया