‘सहकारी सञ्चालकले आफ्नो इमान भुलेर सहकारी सञ्चालन गरे’ (अन्तर्वार्ता)

विहीबार, ०५ पुस २०८०
कोसी प्रदेशमा पछिल्लो समय एकपछि अर्को गर्दै सहकारीहरू जोखिममा पर्दै गइरहेका छन् । सहकारीका सञ्चालकहरूको मनमौजी ढंगले निक्षेप संकलन गर्दे बिनाधितो कर्जा प्रवाह गर्ने प्रवृत्तिले सहकारीहरू जोखिमग्रस्त छन् । कोसी प्रदेशमा हाल १ हजार ८० सहकारीहरू दर्ता रहेको प्रदेश सहकारी रजिष्ट्रारको तथ्यांकमा उल्लेख छ । सहकारीहरूको कूल कारोबार १ खर्ब ४५ अर्ब १७ करोड, ३७ लाख ४१ हजार देखिन्छ । सामान्यभन्दा सामान्य जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने सहकारीहरूमा पछिल्लो समय जोखिम बढेसंगै सहकारीको विश्वसनीयतामासमेत प्रश्न उठिरहेको छ । अहिलेपनि प्रदेशका सुनसरी, मोरङ, झापालगायतका जिल्लामा २२ वटा सहकारीहरू जोखममा रहेको बताइन्छ । यी विविध विषयमा केन्द्रीत रहेर प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोसी प्रदेशका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीसँग प्रदेश खबरले गरेको कुराकानी : सहकारीहरूका विषयमा दैनिकजसो समस्या आइरहेका छन् । अहिले रजिष्ट्रार कार्यालयले नियमन गर्न के गरिरहेको छ ? हामीले कोसी प्रदेशभरीका सबै सहकारीहरूको अनुगमन गरिरहेका छौँ । सहकारी सम्बन्धी सामान्य ज्ञानसमेत नभएकाहरूले सहकारीको सञ्चालक भएर बस्नु, र सहकारीमा ब्याजको प्रलोभनमा धेरै भन्दा धेरै बचत जम्मा गर्नुजस्ता कारणले सहकारीहरू जोखिममा पर्दै गएका छन् । खासगरी सहकारी सञ्चालकले आफ्नो इमान नै भुलेर सहकारी सञ्चालन गरेको पनि पाइन्छ । तर, हामीले सहकारी अनुगमन गर्ने कामलाई पनि तीव्रता दिदैँ बित्तिय सचेतना फैलाउनका लागि अहिले काम गरिरहेका छौँ । अघिल्लो वर्ष प्रदेशका चार सय भन्दा बढी सहकारीहरूलाई नियमित, सघन र पालिकास्तरसँगको सहकार्यमा अनुगमन गरेका थियौँ । यस वर्षपनि एक सय बढी सहकारीहरूलाई सुक्ष्म किसिमबाट काम गरिरहेका छौँ । जोखिम न्यूनीकरणका लागिचाहीँ के काम भइरहेको छ ? जोखिमलाई तत्काल कम गर्न सकिहाल्ने भन्ने होइन । तर, न्यूनीकरण गर्नका लागि हामीले वित्तिय साक्षरताबारे प्रशिक्षित गराउनेदेखि लिएर गाउँ–गाउँमा रहेका सबै सहकारीहरूलाई श्वेतपत्र जारी गर्न लगाउँदै उनीहरूको वर्तमान अवस्थाबारे जानकारी लिइरहेका छौँ । यो श्वेतपत्रका आधारमा कसरी सहकारीको जानकारी हुन्छ ? श्वेतपत्र भनेको स्वमूल्यांकन विधि हो । हामीले प्रदेशका सम्पूर्ण सहकारीलाई श्वेतपत्र जारी गर्न निर्देशन बमोजिम अहिले तीन सय बढी सहकारीले श्वेतपत्र जारी गरेर हामीलाई बुझाइसक्नुभएको छ । श्वेतपत्रले संस्थाको बित्तीय अवस्था, नाफा नोक्सानको अवस्था, जोखिमका आधारमा कर्जाको वर्गीकरण, संस्थागत सुशासनको अवस्थालगायतका कुराहरू समावेश गरिएको हुन्छ । सहकारीहरू जोखिममा पर्ने क्रम नरोकिएपछि हामीले सहकारीहरूलाई श्वेतपत्र जारी गर्न निर्देशन गरेका छौँ । प्रदेशमा रहेका कस्ता सहकारीलाई विश्वास गर्ने ? सबै सहकारीहरू नराम्रा छैनन् । केही सहकारीका कारण यो क्षेत्र नै बदनाम हुने स्थिति आएको देखिन्छ । अहिले हामीले सहकारीलाई स्तरीकरण गरेर वर्गीकरण गर्ने अभियानमा जुटेका छौं । जोखिमका कारण कुन सहकारी कुन वर्गको हो भनेर स्तरीकरण गरेपछि सहकारीलाई पनि हेर्ने नजरमा विस्तारै परिवर्तन हुन्छ । स्तरीकरणको काम कहिलेबाट सुरु हुन्छ ? हामीले अहिले यहाँ भएका कर्मचारीहरूलाई पनि प्रशिक्षण दिइरहेका छौँ । कर्मचारीहरूलाई यसबारे तालिम दिइसकेपछि माघको पहिलो साताबाट स्तरीकरणको कामलाई निरन्तरता दिएर दुई महिनाभित्रमा स्तरीकरण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।

प्रदेशका सम्पूर्ण सहकारीलाई श्वेतपत्र जारी गर्न निर्देशन बमोजिम अहिले तीन सय बढी सहकारीले श्वेतपत्र जारी गरेर हामीलाई बुझाइसक्नुभएको छ । श्वेतपत्रले संस्थाको बित्तीय अवस्था, नाफा नोक्सानको अवस्था, जोखिमका आधारमा कर्जाको वर्गीकरण, संस्थागत सुशासनको अवस्थालगायतका कुराहरू समावेश गरिएको हुन्छ । सहकारीहरू जोखिममा पर्ने क्रम नरोकिएपछि हामीले सहकारीहरूलाई श्वेतपत्र जारी गर्न निर्देशन गरेका छौँ ।

  के आधारमा स्तरीकरण गर्नुहुन्छ ? हामीले स्तरीकण गर्नका लागि १७ वटा सूचकलाई आधार मानेका छौँ । पल्स अनुगमन प्रणालीका १४ सूचक र सदस्य केन्द्रियताका ३ वटा सूचकका आधारमा जोखिमका आधारमा स्तरीकरण गर्ने तयारी गर्दैछौँ । कस्ता सहकारीहरूलाई स्तरीकरण गर्दै हुनुहुन्छ ? हामीले पहिलो चरणमा २५ करोड माथिका संस्थाहरूलाई प्राथमिकतामा राखेर स्तरीकरण गर्नेछौँ । यो काम गरेपछि सहकारीको जोखिमको ‘लेवल’ थाहा हुन्छ । प्रदेशमा १० करोड माथिका दुई सय भन्दा बढी सहकारी छन् । त्यस्तै, २५ करोडदेखि ५० करोडसम्मका ७० वटा, ५० करोडमाथि कारोबार गर्ने १३ वटा, एक अर्बमाथि कारोबार गर्ने ११ वटा सहकारी सञ्चालनमा रहेका छन् । ती सहकारीहरू सबैको जोखिमका आधारमा स्तरीकरण गर्नेछौँ । अन्त्यमा, सहकारी सञ्चालकहरूलाई केही सुझाव छ ? सम्पूर्ण सहकारीका सञ्चालकहरू इमानको सूत्रमा बसेर कारोबार गर्नुहोस् । सहकारीका सदस्यहरूले पनि सहकारी र सञ्चालकबारेसमेत नबुझेर लगानी गर्दासमेत क्षति हुँदै आएको पाइन्छ । हामी समाजमा बस्दा पल्लो घरको मान्छेलाई अप्ठ्यारो पर्दा दुई हजार रुपैयाँ सापटी दिन सक्दैनौँ । तर, दुई हजार बढी ब्याज आउँछ भन्दा करोडौँ पैसा सहकारीमा नबुझी जम्मा गर्छौँ । यसलाई हामीले सुधार्न आवश्यक देखिन्छ । हामी सरकारी निकायमा बसेकाले सहकारीहरूलाई सहजीकरण मात्र गर्न सक्छौँ । तर, तपाईँहरूले ब्याजको प्रलोभनमा जथाभाबी बचत गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । त्यसो हुँदा धेरै सहकारीहरू नियमनमा आउँछन् ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार