कुनै पनि क्षेत्रमा लामो समयसम्म निरन्तरता दिनु आफैँमा ठूलो चुनौती हो । अझै एउटै क्षेत्रमा चार दशकभन्दा बढी समय बिताउनु भनेको केवल जागिर खाने कुरा मात्र होइन, त्यो त जीवनको समर्पण हो । नेपालमा बीमा क्षेत्रलाई नजिकबाट नियाल्ने, यसको विकासमा हातेमालो गर्ने र नयाँ पुस्ताका लागि मार्गचित्र कोर्ने व्यक्तिहरू दुर्लभ छन् । ती दुर्लभ व्यक्तिहरूमध्ये एक हुन्, चिरायु भण्डारी ।
साधारण कृषक परिवारमा जन्मेर सामान्य पढाइ–लेखाइसँगै जीवन सुरु गरेका भण्डारी आज नेपालको बीमा क्षेत्रमा एक स्थापित नाम बनेका छन् । ४७ वर्षभन्दा बढी समयको अनुभव, सङ्घर्ष र मेहनतले उनलाई केवल एक सफल व्यवस्थापक मात्र बनाएन, बरु एक प्रेरणादायी व्यक्तित्व पनि बनायो । सहायक पदबाट सुरुवात गरी राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स हुँदै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सीईओसम्मको यात्रा आफैँमा प्रेरणादायी कथा हो ।
उनको जीवनले पनि सिकाउँछ सफलता रातारात पाइने कुरा होइन, धैर्यता र निरन्तरताको फल हो । उनले आफ्ना विगतका सङ्घर्षलाई पिँढीका लागि मार्गदर्शनमा रूपान्तरण गरेका छन् । यही यात्राको प्रेरणादायी भोगाइ र विचारमा आधारित रहेर प्रदेश खबरका लागि ऊनीसँग गरिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
तपाईँले बीमा क्षेत्रमा आफ्नो करिअर सुरु गर्दा कस्तो अवस्था थियो? सुरुवाती सङ्घर्षबारे के सम्झना छ?
सुरुवाती दिनहरू निकै कठिन थिए । राष्ट्रिय बीमा संस्थानमा प्रवेश गर्दा मलाई धेरैले सहज काम नदिई सबैभन्दा चुनौतीपूर्ण कामहरूमा पठाइन्थ्यो । प्रायः विभागले गर्न नसकेका कामको जिम्मेवारी मेरो काँधमा हालिन्थ्यो । कहिलेकाहीँ साँझको गाडी छुट्थ्यो र म चन्द्रागिरीसम्म पैदल हिँड्थेँ । आफ्नै साथी–मान्छेहरूले काममा पेलेको देख्दा रिस उठ्थ्यो, तर मैले कहिल्यै हार मानिनँ । पछि बुझ्दा त्यो सबै दबाबले नै मलाई बहुमुखी बनायो, हरेक विभागको काममा दक्ष बनायो । आज म जहाँ छु, त्यसको जग भनेकै ती सङ्घर्षका दिनहरू हुन् ।
बीमा क्षेत्रमा ४७ वर्ष बिताउनु भयो, यस अवधिमा तपाईँले पाएको ठूलो शिक्षा के हो?
मलाई लाग्छ – धैर्यता, लगनशीलता र निरन्तरता भन्दा ठूलो शक्ति अरू केही हुँदैन । बीमा क्षेत्र व्यवसाय मात्र होइन, यो त विश्वास निर्माण गर्ने क्षेत्र हो । मानिसहरूको भविष्य सुरक्षित गर्ने जिम्मेवारी छ यो क्षेत्रमा । मैले बुझेँ, कामको दबाबलाई अवसरमा बदल्न सकिन्छ भने मानिस हरेक क्षेत्रमा सफल हुन्छ । मेहनत र समर्पणबाट पाएको मिठास जीवनमा कहिल्यै हराउँदैन ।
तपाईँको यात्रा सहायकबाट सीईओसम्म पुग्यो, यस यात्राको अनुभव कस्तो रह्यो?
सुरुवातमा सहायकको भूमिकाबाट सुरु गर्दा मलाई बीमाबारे खासै जानकारी थिएन । तर, मैले निरन्तर सिकिरहेँ – भ्यालुएसन, प्रोडक्ट डिजाइन, बजार रणनीति, दाबी निपटानदेखि लिएर पुनर्बीमासम्मका सबै कुरा । २६ वर्ष नेशनल लाइफ इन्स्योरेन्समा बिताएँ । त्यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनीमा सीईओ भएँ, प्राइम इन्स्योरेन्समा काम गरेँ, र अहिले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा सीईओको जिम्मेवारी सम्हाल्दै छु । सहायकबाट सीईओसम्मको यात्रा सजिलो थिएन, तर मैले सधैँ एक कुरा सम्झेँ – हामीलाई दिइएको काम जुनसुकै होस्, त्यसलाई उत्कृष्ट बनाउनुपर्छ । यही दृष्टिकोणले मलाई सफल बनाएको हो ।
व्यक्तिगत जीवन र व्यावसायिक जीवनबिच सन्तुलन कसरी मिलाउनु भएको छ?
म विश्वास गर्छु – सफलताको लागि परिवारको साथ अनिवार्य हुन्छ । मेरो जीवनमा पत्नी लक्ष्मी भण्डारी, छोरी आँचल भण्डारी र मेरा परिवारका सदस्यहरू ठूलो आधार स्तम्भ हुन् । उनीहरूको साथ र सहयोगले नै म व्यावसायिक रूपमा निरन्तर अघि बढ्न सकेँ । फुर्सदको समयमा म बीमा सम्बन्धी किताब पढ्छु, छिमेकी देशहरूको बीमा बजारबारे अध्ययन गर्छु । व्यक्तिगत र व्यावसायिक जीवन सन्तुलित राख्न सकिएको कारण नै आज म मानसिक रूपमा पनि सन्तुष्ट छु ।
नेपालमा बीमा क्षेत्रमा अझै के कमी–कमजोरीहरू देख्नुहुन्छ?
नेपालमा बीमा क्षेत्रमा अझै पर्याप्त सचेतना छैन । धेरैलाई बीमा भनेको जीवनबीमा मात्र हो भन्ने लाग्छ, तर यसका धेरै आयाम छन् । माइक्रो इन्स्योरेन्सले त ग्रामीण र विपन्न समुदायलाई प्रत्यक्ष लाभ दिन सक्छ । तर, यसका लागि नियामक निकाय, बीमा कम्पनीहरू र सरोकारवालाहरूबिच सशक्त सहकार्य आवश्यक छ । अझै युवालाई यो क्षेत्रमा करियर बनाउन आकर्षित गर्ने काम गर्नुपर्छ ।
तपाईँ नयाँ पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ
म युवा पुस्तालाई भन्न चाहन्छु – सफलताको चुचुरोमा पुग्न धैर्यताको सिँढी चढ्नुपर्छ । छोटो बाटो खोज्ने बानीले दीर्घकालीन सफलता दिँदैन । बीमा जस्तो क्षेत्रमा प्रवेश गर्नुस्, जहाँ तपाईँले केवल आफ्नो भविष्य मात्र होइन, हजारौँ मानिसको भविष्य सुरक्षित गर्न सक्नुहुन्छ । यही साँचो सफलताको अनुभूति हो । युवाले डिजिटलाइजेशन, इन्स्यो–टेक र नयाँ बीमा उत्पादन विकासमा आफ्नो ऊर्जा लगाउन सक्छन् । यो क्षेत्रमा असीमित सम्भावना छ ।
तपाईँको जीवन दर्शन के हो? र आगामी सपना के छन्?
मेरो जीवन दर्शन छ – मेहनत, धैर्यता र इमानदारीले मात्र जीवनमा दिगो सफलता दिन्छ । भविष्यमा रिटायर भएपछि पनि म बीमा क्षेत्रमै संलग्न रहन चाहन्छु । विशेषगरी अध्यापनमा रुचि छ, ताकि नयाँ पुस्ताले सिक्न सकोस् । मेरो सपना हो – नेपालका प्रत्येक नागरिक बीमाको दायरामा आउन्, जसले गर्दा कोही पनि आर्थिक सङ्कटका कारण जीवनभर पीडित नबनुन् ।
प्रतिक्रिया