संखुवासभामा सालकको २०८ किलो खपेटासहित दुईजना पक्राउ

शुक्रबार, १३ पुस २०८०
विराटनगर । प्रहरीले सालकको २०८ किलो खपेटासहित संखुवासभामा दुईजनालाई पक्राउ गरेको छ । प्रहरी चौकी चेपुवा संखुवासभाबाट खटिएको टोलीले ग्रामीण गस्ती गर्ने क्रममा भोटखोला गाउँपालिका–२ च्याम्ताङमा उनीहरुलाई पक्राउ गरेको हो । चेपुवाबाट च्याम्ताङ जाने पैदल बाटोमा सामान सहितको बोरा बोकी हिँड्दै गरेका बेला प्रहरीले उनीहरुलाई भेटेको थियो । त्यस क्रममा आफूहरुले बोकेको बोरा फालेर उनीहरु भागेका थिए । बोरा जाँच गर्ने क्रममा प्रहरीले वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) फेला पारेको थियो । फरार भएकाहरुको खोजी गर्ने क्रममा प्रहरीले भोटखोला गाउँपालिका–२ का ३५ वर्षीय छिरिङ भोटेलाई पक्राउ गरेको थियो । सातवटा बोरामा प्याकिङ्ग गरेको अवस्थामा रहेको उक्त सालकको खपेटा जस्तो देखिने पदार्थको तौल करिब २०८ किलो रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका भोटेसँगबाट प्रारम्भिक सोधपुछको क्रममा अर्का व्यक्ति भोटखोला गाउँपालिका–२ च्याम्ताङकी १८ वर्षीय डेमा थिकेपालाई पनि पक्राउ गरिएको प्रहरलिे जनाएको छ । पक्राउ परेकाहरूलाई बरामद भएको सालकको खपेटासहित आवश्यक अनुसन्धानका लागि मकालु बरूण राष्ट्रिय निकुन्ज कार्यालय हेदङ्नामा बुझाइएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार