इलाम / के तपाई प्रदेश नम्बर एकको पर्यटकीय नगरी सूर्योदय आउँदै हुनुहुन्छ ? तपाईँमा मदिरा पिउने लत लागेको छ ? या घुम्न गएको समयमा मदिरा पिउन रहर लागेको छ ? यदि यो नगरपालिकामा आउनुभयो भने साँझ पाँच बजेपछि मात्र रक्सी खान पाइन्छ । नगरपालिकाले पाँच बजेपछि मात्र मदिरा सेवन गर्न दिने भएको हो ।
पालिकामा शुक्रवार बसेको कार्यपालिका बैठकबाट मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गरेसँगै सो नियम समेत ल्याएको हो ।
दिनदाहाडै मदिराले लट्ठिएर होहल्ला गर्ने प्रवृत्ति बढेको, सार्वजनिक निकाय वरिपरि मदिराको बेचबिखन गर्ने गरेको, विद्यार्थीलाई मदिरा बेचबिखन गर्ने गरेको र बालबालिकामा मदिराको लत बढ्न थालेकाले नगरपालिकाले मदिरा नियन्त्रणका लागि कानुनी प्रावधानको व्यवस्था गरेको हो ।
कार्यविधिले १८ वर्ष मुनिका बालबालिकालाई मदिरा बेचबिखन गर्न निषेध गरेको नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले जानकारी दिए । इजाजत विना मदिरा बेच्न नपाइने र मदिरा खरिदबिक्रीको विजक अनिवार्य समेत गरेको छ ।
मदिरा तथा सुर्तीजन्य बस्तुलाई नियमन गर्न आउँदो नगर सभाबाट ऐन बनाउन विधेयक समितिको संयोजक उर्गेन बम्जनको संयोजकत्वमा ऐन मस्यौदा समिति गठन भएको छ । नगरपालिकाको १४ औ नगर सभा माघ दश गतेदेखि बस्दै छ ।
नगर सभाबाट ऐन पारित भएपछि मदिरा जन्य बस्तुको नियन्त्रणका लागि सघन रूपमा अभियान सञ्चालन गर्ने बताइएको छ । सूर्योदयमा जम्मा १४ वटा वडा रहेका छन् ।
प्रतिक्रिया