इलाम, पुस : इलाममा मृत अवस्थामा पोथी रेड पाण्डा फेला परेको छ । सन्दकपुर गाउँपालिका–५ जौवारिमा मृत अवस्थामा रेड पान्डा फेला परेको हो ।
स्थानीय प्रज्वल भट्टराईका अनुसार गैरी बास सडक छेउ वृक्षारोपण क्षेत्रको फेन्सिङ तार बारको छेउमा रेडपाण्डा फेला पारिएको हो । सो मृत रेडपाण्डाको उमेर अन्दाजी डेढ वर्षको रहेको सन्दकपुर गाउँपालिका पशु शाखाका प्रमुख सबिन भट्टराईले बताए ।
उनका अनुसार सो रेडपाण्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सब डिभिजन देउराली, चोयाटार सामुदायिक बन उपभोक्ता समिती, हिले, जौवारि प्रहरी चौकी तथा स्थानीयको रोहवरमा शव परीक्षणको लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलाम पठाइएको छ ।
जौवारि भारतसँग नजिक पर्दछ । खुल्ला सिमानाका कारण रेडपाण्डाको तस्करी हुँदै आएको स्थानीयको भनाई छ । इलामको सन्दकपुर गाउँपालिकाको जौवारि, जमुना, चोया टार लगायतका स्थानमा रेडपाण्डा पाइने गरेको छ ।
तर रेडपाण्डा निगरानीका लागि केही संस्था क्रियाशील गरे पनि रेडपाण्डा मृत अवस्थामा फेला पर्ने गरेका छन् । केही समय अघि पनि मृत अवस्थामा रेडपाण्डा फेला परेको थियो ।
रेडपाण्डालाई सरकारले दुर्लभ वन्यजन्तुको रूपमा राखेको छ ।
प्रतिक्रिया