तमोर जलाशययुक्त आयोजना : नेपालीकै लगानीमा बनाउन माग

विहीबार, १९ पुस २०८०
पाँचथर : ऊर्जा उत्पादकहरूले प्रस्तावित ७६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना नेपालीकै लगानीमा बनाउन माग गरेका छन् । निजी क्षेत्रलाई निर्माण गर्न दिए नेपालीकै लगानीमा पनि आयोजना निर्माण सम्भव रहेको उनीहरूको दाबी छ । ५० वर्षको विद्युत् उत्पादनको अनुमति पत्र दिएमा नेपालको निजी क्षेत्रले पनि आयोजना निर्माण गर्न सक्ने र त्यसले नेपाललाई नै आर्थिक लाभ हुने उनीहरूको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का पदाधिकारीहरू सरकारका मन्त्री, सांसद र सरोकारवालामार्फत आयोजना नेपाली जनताकै लगानीमा निर्माण गर्ने गरी अघि बढाउन लबिङ गर्दै आएका छन् । सहरी विकास मन्त्री सीता गुरुङलाई भेटेर त्यस्तो प्रस्ताव दोहोलो¥याए । मन्त्री गुरुङ तमोर जलाशययुक्त आयोजना प्रभावित क्षेत्र तेह्रथुमबाट निर्वाचित सांसद हुन् । मङ्गलवार मन्त्री गुरुङसँग इप्पानका अध्यक्ष गणेश कार्की, पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईँ र वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीसहित पदाधिकारीहरूले भेटवार्ता गरे । सो भेटमा तमोर जलाशययुक्त आयोजना निर्माणका विषयमा छलफल भएको थियो । त्यस क्रममा सरकारले नेपाली लगानीमै आयोजना निर्माणको योजना ल्याए र निजी क्षेत्रलाई ५० वर्षको विद्युत् उत्पादनको अनुमति पत्र दिए आफूहरू त्यसका लागि सक्षम रहेको इप्पानका पदाधिकारीहरूले ध्यानाकर्षण गराएका छन् । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले सरकारले देशको अर्थतन्त्रमा ठुलो महत्त्व राख्ने सम्भावना बोकेको आयोजना विदेशीलाई दिन लागेको बताए । ‘यो आयोजना नेपालले बनाउँदा नेपालकै आर्थिक विकास र समृद्धिमा ठुलो टेवा पुग्ने निश्चित छ । जति पनि ठुला आयोजनाहरू छन्, त्यसमध्ये यो सबैभन्दा धेरै नाफा हुनसक्ने आयोजना पनि हो,’ उनले भने, ‘लगानीका हिसाबले पनि यो आयोजना ठुलो हो । तर सरकारले हामीलाई दिएको अवस्थामा १० वर्षभित्र आयोजना निर्माण गरेर सञ्चालनमा ल्याउन सक्छौँ ।’ उनले पुँजी जुटाउने विषयमा समेत आफूहरूसँग प्रस्ट योजना रहेको बताए । ‘आयोजना बन्दा त्यहाँका हरेक घरधुरी गाँस कटाएर भए पनि ५० हजार रुपैयाँ लगानी गर्न तयार छन् । म पनि त्यहीको स्थानीय हुँ,’ उनले भने, ‘नेपालीको लगानीमा आयोजना बन्यो भने त्यसबाट हुने सबै लाभ नेपालीले नै पाउने निश्चित हुन्छ ।’ उनले अहिले नेपाललाई उज्यालो बनाउने काममा समेत आफूहरूकै भूमिका रहेको बताए । ‘अहिले नेपालमा ३ हजार मेगावाट बिजुली छ । त्यसमध्ये हामीले नै दुई हजार मेगावाट बनाएका छौँ,’ उनले भने, ‘तुलनात्मक रूपमा यो ठुलो परियोजना हो, तर हामी गर्न सक्छौँ ।’ भेटमा मन्त्री गुरुङले नेपालीकै लगानीमा आयोजना निर्माण गर्ने बारे आफूले लबिङ गर्ने बताइन् । तेह्रथुम, ताप्लेजुङ र पाँचथरको सीमा भएर बहने तमोर नदीबाट न्यून लगानीमा धेरै बिद्युत् उत्पादन गर्न सकिने नेपाल विद्युत् प्राधिकरणको अध्ययनको निष्कर्ष छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार