इटहरी । सशस्त्र प्रहरीले अवैध हुण्डी कारोबारको २१ लाख ५७ हजार नगदसहित सुनसरीको भोक्राहा नरसिंहबाट एक जनालाई पक्राउ गरेको छ ।
कोशी गाउँपलिका–३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो ।
उनी भोक्राहा नरसिंह गाउँपालिका–६ बाट पक्राउ परेका हुन् । राउतको साथबाट स्रोत नखुलेको २१ लाख ५७ हजार नेपाली रूपैयाँभन्दा बढी बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतले जानकारी दिए ।
राउतले स्रोत नखुलेको रकम बोकेर हिँडिरहेको सूचना सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह बाहिनी मुख्यालय इटहरीमा आएको थियो । त्यसलगत्तै उनलाई पक्राउ गर्न सशस्त्रको टोली खटिएको हो । पूर्व–पश्चिम राजमार्ग हुँदै प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ गइरहेका बेला राउतलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा अवैध रकम बरामद भएको एसएसपी कर्णजीतले बताए ।
कर्णजीतका अनुसार साथबाट बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो । राउतको साथबाट २१ लाख ५७ हजार ९ सय ३५ रूपैयाँ बरामद भएको उनले बताए ।
सशस्त्रले बरामद भएको रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । उनको साथबाट एक हजार दरको नौ सय चार, पाँच सय दरको दुई हजार पाँच सय चार, एक सय दरको १९, २०, १० र पाँच दरको एक÷एक थान नेपाली नोट बरामद भएको सशस्त्रले जनाएको छ ।
सशस्त्रका अनुसार बरामद भएको रकम अवैध हुण्डी कारोबारको हो । राउत हुण्डी कारोबारीका भरिया हुन् कि आफैं हुण्डीको कारोबार गर्छन् भन्ने यकिन भइनसकेको सशस्त्रले जनाएको छ ।
प्रतिक्रिया