इलाम, पुस / पछिल्लो समय किसानसँग अलैँची छैन तर दाम उच्च छ । हाल प्रतिमन (४० किलो ग्राम) को मूल्य असी देखी पचासी हजारमा खरिद बिक्री भइरहेको छ । माग, आपूर्ति र उत्पादनमा भर पर्नु पर्ने अलैँचीको मूल्य भारतीय व्यापारीको मौखिक मूल्यमा नै निर्भर रहनु परिरहेको छ ।
भाततर्फबाट कुनै लिखित मूल्य हेर्न र पढ्न पाइँदैन । भारतीय ब्यापारीले महँगो मूल्यमा खरिद गर्दा महँगोमा नै र सस्तो मूल्यमा खरिद गर्दा सस्तो मूल्यमा नै अलैँची खरिद बिक्री भइरहेको किसान तथा व्यापारीहरूको भनाई छ ।
विशेष गरेर मसलाका रूपमा भारतमा निर्यात हुने अलैँची भारतकै मागका आधारमा मूल्य निर्धारण हुने गरेको छ । किसानसँग अलैँची सकिँदै गएपछि दाम उकालो चढ्न थालेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख नवदेवालीका रूपमा रहेको अलैँचीको मूल्य यस वर्ष बितेका तीन वर्ष यताकै उच्च हो । तीन वर्ष अघि २८ देखी तीस हजार प्रतिमन खरिद बिक्री भएको अलैँची हाल असी हजार माथि रहनुले पनि यसको मूल्य एक नासले नरहेको पुष्टि हुन्छ । हुन त १० वर्ष अघि एक लाख चालिस हजार प्रतिमन खरिद बिक्री भएको अलैँचीको मूल्य बिचमा ओरालो लाग्यो । पुन किसानले लगाएको अलैँची समेत मासिएर करिब शून्यमा नै पुगेपछि दाम उकालो चढ्न थाल्यो । गएको वैशाख, जेठ महिनामा पहाडी जिल्लामा पानी परेन र यस वर्ष अलैँची उत्पादनमा गिरावट आएको हो ।
किसानसँगै अझै पनि २० प्रतिशत तयारी अलैँची रहेको बताइएको छ । उनीहरू भाउ अझ बढ्न सक्ने आङ्कलन गरेर प्रतिमन एक लाख पर्खिएर अलैँची घरैमा राख्दै आएका छ ।
पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य श्रोत तथा नवदेवालीका रूपमा रहेको अलैँचीको टिपाई भदौ असोजमा हुने गरेको छ । त्यसयता आउने चाडपर्व लगायत करिब ८० प्रतिशत किसानले अलैँची बिक्री गरिसकेको भए पनि २० प्रतिशत किसानसँग अलैँची रहेको बताइएको छ ।
एक लाख भन्दा माथिको मूल्यमा अलैँची बिक्री गरेका किसानलाई एक लाख भन्दा कम मूल्यमा आँखा नगएका कारण पनि धरै किसानले अलैँचीबाट निराशा उत्पन्न भएको बताए । मूल्यमा एकरूपता नभएका कारण पनि किसानले अलैँची मासेर अन्य बाली लगाउन थाले । त्यसो त अन्न बाली मासेर अलैँची लगाउने किसान समेत सन्तुष्ट छैनन् । गएको वर्ष झैँ कम मूल्य आउने भन्दै धेरैले अलैँची बेचिसकेपछि मूल्य उकालो लागेको हो ।
जिल्लाको तल्लो क्षेत्र रहेको इलामको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका र इलाम नगरपालिका, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रमा रहेको बगानमा किसानले अलैँची असोज महिना भित्रमा टिपिसक्ने गरेका छन् । सो भन्दा माथि अर्थात् सन्दकपुर लगायत अन्य पालिकाकै समेत माथिल्लो क्षेत्रका किसानले मङ्सिर सम्ममा नै अलैँची टिप्ने र सुकाउने गर्दछन् । सुकाएको तयारी अलैँची मङ्सिर र पुस महिनामा एक थरी किसानले प्राय बिक्री गरिसक्छन् ।
घरमा भएको अलैँची बिक्री गरिसकेपछि मूल्य बढेको किसान मातृका खतिवडाले बताए । उनले भएको अलैँची बेचिसकेपछि आएको मूल्यले अलैँची लगाउने जोस आएको बताए ।
उच्च मूल्य हुँदा अलैँचीलाई खोल्साको कालो सुनको उपनाम समेत दिइने गरिएको छ । क्रमशः अलैँचीको मूल्य बढ्दै गएको छ । दुई वर्ष अघि करिब ३० हजार प्रति मन बिक्री भएको अलैँची गएको वर्ष प्रतिमन ४५ बजार सम्मले बिक्री भएको थियो । यस वर्ष असी हजार माथि मूल्यमा बिक्री भइरहेको इलाम उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेलले बताए । उनले किसानसँग भएको अलैँची फाट्टफुट्ट रूपमा बजारसम्म आउने गरेको बताए ।
एकातिर विभिन्न रोगले अलैँची मासिने र अर्कातिर भाउ घट्दै गएपछि अलैँचीको विकल्प खोज्न थालेका थिए । तिर दाम बढ्न थालेपछि किसानमा उत्साह पलाएको छ ।
भारतको बाटो भएर विदेश निर्यात हुने अलैँचीले देशको अर्थतन्त्रमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर सरकारी क्षेत्रबाट मासिँदै गरेको अलैँची ब्युँताउन खास किसान समक्ष कार्यक्रम नै नल्याएको किसानहरूको गुनासो छ ।
अलैँचीको यो वर्षको सिजन सुरु भएसँगै भाउ बढ्दै गएको छ । त्यसो त गएका वर्ष खरिद गरेर व्यापारीले थुपारेको अलैँची समेत यस वर्ष राम्रो मूल्यमा बिक्री भएको छ ।
हाल समेत राम्रोसँग सुकाइएको गुणस्तरीय अलैँचीको मूल्य केही हजार माथि नै छ । राम्रो गुणस्तरको अलैँची प्रतिमन पचासी हजार प्रतिमन बिक्री भइरहेको वाणिज्य सङ्घका अध्यक्ष पौडेलको भनाई छ ।
दाम नपाएर करिब बिचल्ली अवस्थामा पुगेका किसानका लागि यो राम्रो मूल्य भएको अलैँची व्यवसायी सङ्घका उपाध्यक्ष मातृका घिमिरेले बताए । उनले आर्थिक अवस्था उच्च रहेका किसानले असी हजार प्रतिमन मूल्य हुँदा पनि नबेच्नु उनीहरू आर्थिक रूपले सक्षम रहेको बताए ।
पत्याउन लायकको तथ्याङ्क छैन : महासङ्घ
यता कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा अलैँचीको उत्पादन वृद्धि भएको छ । तर यो तथ्याङ्क गलत रहेको व्यवसायी महासङ्घको भनाई छ । जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन भएको कार्यालयको तथ्याकमा उल्लेख छ । जुन अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो । एक हजार सात सय ५३ हेक्टर जमिनबाट अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
गत आवमा एक हजार दुई सय १५ दशमलव २६ मेट्रिक टन मात्र अलैँची उत्पादन भएको थियो । गएको वर्ष एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँची खेती गरिएको जनाइएको छ । अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको कार्यालयका कर्मचारी जन खड्काको भनाई छ । गत वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकोमा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको जनाइएको छ ।
तर गएको वर्ष भन्दा बडी अलैँची उत्पादन नभएको महासङ्घका उपाध्यक्ष घिमिरेले बताए । हरेक किसान र व्यवसायीसम्म आफूहरू समेत पुग्ने गरेको भन्दै गएको वर्ष भन्दा अलैँचीको उत्पादन नबढेको उनको भनाइ छ । गएको वैशाख र जेठमा पानी नपरेका कारण किसानहरूले समेत अलैँचीको उत्पादन घटेको बताउँदै आएका छन् । तर कार्यालयको तथ्याङ्कमा अलैँचीको उत्पादन समेत वृद्धि भएको छ ।
नेपालमा ४० जिल्लामा यसको खेती हुँदै आएको बताइएको छ । प्रदेश नम्बर एकको इलाम सहित पाँचथर तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ जिल्लामा यसको व्यावसायिक र बडी उत्पादन हुने गरेको छ ।
नेपालमा १८ हजार २ सय ७३ हेक्टरमा अलैँची खेती हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । साथै ७ हजार ९ सय ५४ मेट्रिक टन अलैँची उत्पादन हुँदै आएको बताइएको छ ।
बिचमा मासिएर उत्पादन शून्य बनेपछि किसानहरूले अन्नबाली मासेर यसको व्यावसायिक खेती गर्दै आएका छन् । उनीहरूले अन्नबाली भन्दा राम्रो मुनाफा हुने भएपछि घुरेनमा समेत यसको खेती गर्दै आएका छन् ।
नेपालमा उत्पादित सुख्खा अलैँची भारत भएर तेस्रो मुलुक निर्यात हुन्छ । सरकारले नेपालको अलैँची नेपालमा नै पर्याप्त प्रशोधन गर्न पहल गरे यसको मूल्य पुन बढ्ने किसानहरूको भनाई छ ।
नेपालमा एक ठाउँमा मात्र यसको प्रशोधन गरिन्छ । झापामा केही वर्ष देखी यसको प्रशोधन विभिन्न वस्तु उत्पादन थाले पनि यसले मात्र पर्याप्त नभएको व्यवसायीको भनाई छ ।
औषधी, मसला र विभिन्न सुगन्धमा प्रयोग हुने अलैँची नेपालमा नै पर्याप्त प्रशोधन हुन सके मूल्य समेत उच्च रहने र अन्य वस्तु बाहिरबाट खरिद गर्नुपर्ने समस्या हट्ने बताइएको छ । साथै नेपालको अलैँचीबाट विभिन्न औषधि नै निर्माण भएर नेपालमा नै आउने हुँदा औषधिको मूल्य समेत उच्च पर्दै आएको छ । साथै अन्य सुगन्धित बस्तु समेत महँगो मूल्यमा नै खरिद गरिरहनु परेको छ । नेपालमा यसको उत्पादन भए पनि तेस्रो मुलुकमा निर्यातका लागि बजारीकरणमा समस्या छ । भारतकै भर पर्नुपर्दा समस्या भइरहेको व्यवसायीहरुको भनाई छ । नेपालको उत्पादन भए पनि भाउ भने भारतको हुँदा यहाँको अलैँचीले बडी मूल्य लिन नसकिएको बताइएको छ ।
एउटा उद्योगबाट प्रशोधन भइरहेको उद्योगको सङ्ख्या वृद्धिमा सरकार लाग्न सके वा अलैँची प्रशोधनलाई प्रोत्साहन सहितका कार्यक्रम ल्याउन जरुर रहेको यहाँका किसान तथा व्यवसायीहरुको भनाई छ ।
नेपालमा स्थापना भएको अलैँची प्रशोधन उद्योगले माउथ फ्रेस लगायतका उत्पादन गर्दै आएको छ । हाल नेपालमा उत्पादन हुने अलैँची दुई देखी तीन प्रतिशत मात्र खपत हुने गरेको जनाइएको छ । सोझै तेस्रो मुलुक नजाने गरेको अलैँची भारतीय ब्यापारी मार्फत विश्वका विभिन्न मुलुकमा निर्यात भइरहेको जनाइएको छ ।
अलैँची व्यवसायी महासङ्घले खानापछि होटलमा समेत अलैँची नै राख्न सके पनि केही प्रतिशत खपत बढ्ने बताएको छ । सुकुमेलको ठाउँमा नेपालकै अलैँची प्रयोग गराउन समेत आफूहरूले पहल गरिरहेको उपाध्यक्ष घिमिरेले बताए ।
सरकारले समेत अलैँचीको उत्पादन बढाउन र विदेश निर्यातमा ठोस काम गर्न नसक्दा बिचबिचमा समस्या आउने गरेको बताउने गरेका छन् ।
प्रतिक्रिया