सोही अवसरमा उपप्रधानमन्त्री खड्काले सुदूरपश्चिम प्रदेशलाई पर्यटन तथा कृषिको विकासमार्फत समृद्धि बनाउन सकिने बताए । उनले दुईतिर छिमेकी मुलुकसँग सिमाना जोडिएको यो प्रदेशमा पर्यटन प्रवर्द्धन, औद्योगिक वस्तुको उत्पादन र निकासी, कृषि र पशुपालन क्षेत्रको विस्तार, जडीबुटी उत्पादन र प्रशोधन तथा शैक्षिक विकासलाई प्रवर्द्धन गरी यस क्षेत्रलाई मुलुककै एउटा आर्थिक हबको रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको धारणा राखे ।
टीकापुर सुदूर पश्चिमको सुन्दर एवम् ठुलो आर्थिक सम्भावना बोकेको सहर भएको र सदरमुकाम धनगढीपछिको प्रमुख आर्थिक व्यापारिक केन्द्रको रूपमा रहेको उहाँको भनाइ थियो ।
यस क्षेत्रको विकासका लागि विभिन्न पहलहरू गर्नुपर्ने खाँचो रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले खास गरी २०७५ सालमा छोटी भन्सारबाट मूल भन्सारमा स्तरोन्नति भएको सत्ती भन्सार कार्यालय आवश्यक जनशक्ति, ल्याब सहितको क्वारेनटाइन, सडकको सहज पहुँच लगायतका व्यवस्था मिलाउन जरुरी रहेको भनाइ राखे । टीकापुर कृषि उत्पादनका लागि पनि ठुलो सम्भावना भएको क्षेत्र हो। यहाँ केराको पकेट क्षेत्र स्थापनाका लागि पहल हुन आवश्यक रहेको उहाँको धारणा थियो ।
महोत्सवले सुदूरपश्चिमको कला, संस्कृति, पर्यटनको प्रवर्द्धनमा योगदान पुग्नुका साथै यस क्षेत्रका विभिन्न समुदायका संस्कृति, परम्परा र साहित्यको जगेर्ना एवं विकास गर्न समेत ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साथै भारतबाट आउने धार्मिक पर्यटकहरूलाई कैलाश मानसरोवर जोड्ने नाकाका रूपमा टीकापुरलाई विकास गर्न सके यसबाट यस क्षेत्रको पर्यटन उद्योगको विकासमा उल्लेख्य सहयोग पुग्ने उपप्रधानमन्त्री खड्काले उल्लेख गरे ।
प्रतिक्रिया