रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधी

सोमबार, ०२ माघ २०७९
ला लिगा प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई पराजित गर्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको उपाधी चुमेको छ । साउदी अरबको रियादमा आइतबार राति भएको खेलमा साविक विजेता रियललाई ३–१ ले पराजित गर्दै बार्सिलोना ३ सिजनपछि च्याम्पियन बन्न सफल भएको हो । त्यसअघि बार्सिलोनाले सन् २०१८–१९ को सिजनमा सेभियालाई हराएर उपाधि जितेको थियो । किङ फाद इन्टरनेसनल स्टेडियममा बार्सिलोनालाई च्याम्पियन बनाउन गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले गोल गरे । रियलका कप्तान करिम बेन्जेमाले एक गोल फर्काए । खेलको ३३औं मिनेटमा गाभीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । उनले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले गाभीको पासमा गोल गर्न सफल भएका थिए । ६८औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गरेपनि रियललाई जिताउन पर्याप्त भएन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार