सोही स्थानका स्वर्गीय नैनकुमार तुम्बापोले पनि आफू र पत्नीका लागि केही वर्षअघि दुई कोठाको आकर्षक कपुरथान निर्माण गर्नुभएको थियो । तर उहाँले निर्माण गरेको दुई कोठे कपुरथानको एउटा कोठो खुला छ भने अर्को कोठो सधैँका लागि बन्द भइसकेको छ । पाँच महिनाअघि मृत्यु भएका नैनकुमारको शवलाई कपुरथानको एक कोठामा राखिएको छ । पत्नीका लागि निर्माण गरिएको कोठो भने खुला छ ।सामान्यतया लिम्बू जातिमा निधन भएपछि शव राख्ने यस्तो परम्परा छ । चिहानघरमा शव राखिसकेपछि बाहिरबाट ढुङ्गामा माटो वा सिमेन्ट प्रयोग गरी प्वाल बन्द गरिदिने चलन छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङमा जीवित अवस्थामै आफ्ना लागि चिहान बनाउने चलन बढ्दै गएको छ । माङ्दाङ्वा गाउँका १५ ज्येष्ठ नागरिकले आफूले रोजेको ठाउँमा कपुरथान बनाएका छन् । स्थानीय शिवकुमार इङ्नामले १५ जनाभन्दा बढीको शव आफैँले निर्माण गरेको कपुरथानमा पुरिसकिएको बताउनुभयो । स्थानीय समाज सेवी रमेश इवाहाङका अनुसार २०४० सालबाट नै यो परम्पराको सुरुवात भएको हो । पहिलो पटक सुब्बा चन्द्रप्रसाद तुम्बापोले यो कार्यको सुरुवात गर्नुभएको थियो ।
कपुरथान निर्माण गरेको १७ वर्षपछि अर्थात् २०५७ सालमा उहाँको मृत्यु भएको थियो । स्थानीय रमेश इवाहाङले चन्द्रप्रसादलाई ‘चिहान बुढो’ नामबाट चिनिने गरिएको बताउँदै भन्नुभयो, “उहाँले पहिलो पटक निर्माण गर्दा यो धेरैका लागि अनौठो भयो । धेरै जना हेर्न आउँथे ।”जिउँदो छँदै चिहान बनाउनेहरूले धर्मग्रन्थ अनुसारभन्दा पनि आफ्नै इच्छाले बनाएका हुन् । लिम्बू जातिका खोजकर्ता भगिराज इङ्नामले धर्मशास्त्र मुन्धुममा उल्लेख भए अनुसार मृत्युपछि शवलाई नदीमा बगाउने गरिएकोमा माछाले नदी आफूहरूको भएको दाबी गरेपछि रुखमा झुन्ड्याउने गरेका र रुखमा झुन्ड्याउँदा चराचुरुङ्गीले नदिएकाले भिरबाट फाल्ने गरिन्थ्यो । उहाँले त्यसरी फाल्दा तर्साउने गरेकाले माटो र ढुङ्गा मिलाएर पुर्न सुरु गरिएको मुन्धुममा उल्लेख भएको बताउनुभयो । अचेल पक्की कपुरथान निर्माण गर्न थालिएको छ । आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया