झापा । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश कोषाध्यक्ष रेवतराज पुरी– गगन सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।
सम्पत्ति शुद्धीकरण विभागले २०७७ माघ २१ गते पुरी दम्पतीसहित ६ जनाविरूद्ध १२ करोड १३ लाख रूपैयाँबराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो।
सोही मुद्धामा अदालतले उनलाई दोषी ठहर गरेको हो । उनीहरूलाई सजाय निर्धारण गर्न अदालतले अर्को पेसीमा थप सुनुवाइ गर्नेछ।
झापाको दमक – १३ स्थित सरकारी जग्गा हडपेर अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा खेपिरहेका गगन र उनकी श्रीमती केशावती पुरी पनि विशेष अदालतबाट दोषी ठहर भएका छन्।
पुरीसँग ३ करोड ३२ लाख वैध सम्पत्ति रहेको तर ७ करोड ३५ लाखभन्दा बढी रकमको कारोबार देखिएको अदालतको ठहर छ। ४ करोड ३ लाख रूपैयाँ अवैध देखिएकाले अदालतले उनलाई दोषी ठहर गरेको हो।
गगनका आफन्त मनमाया पुरी र देवकुमार पुरीले सफाइ पाएका छन्। कृष्णकुमार पुरी र संगीता पुरीको सम्पत्ति पनि जफत नहुने फैसला अदालतले गरेको छ।
पुरी गत वर्ष सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ ९ख० मा माओवादीबाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए। उनी एमालेका होमबहादुर थापाबाट पराजित भएका थिए।
२०७४ मा गगन माओवादीबाटै टिकट पाएर दमक नगरपालिका प्रमुखको पदमा प्रतिस्पर्धा गरेका थिए। त्यतिखेर उनी एमालेका रोमनाथ ओलीबाट पराजित भएका थिए।
प्रतिक्रिया