इँवाखोला हाइड्रोको उत्पादन ठप्प

विहीबार, १० फागुन २०८०
पाँचथर / पाँचथर र ताप्लेजुङको सिमाना भएर बग्ने इन्द्रावती खोलाबाट उत्पादित इँवाखोला जलविद्युत आयोजनाको उत्पादन विगत आठ महिनादेखि ठप्प छ । गत वर्षातको समयमा भएको वर्षा र बाढी पहिरोले आयोजनामा क्षति गरेपछि उत्पादन ठप्प भएको हो । तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवर्धनमा उत्पादित सो जलविद्युत आयोजनाको बाँध, पाइपलाइन र प्रसारण लाइन र विद्युतगृहमा बाढी पहिरोले क्षति गरेको छ । बाढी पहिरोले क्षति गरेको आयोजनाको पुनर्निर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन ठप्प भएको छ । वर्षापछि आएको बाढी पहिरोले जलविद्युत आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा त्यस बेला ७० करोड रुपियाँ बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का कार्यकारी सदस्यसमेत रहेका आयोजनाका कार्यकारी निर्देशक कुबेरमणि नेपालका अनुसार बाढी पहिरोले बाँध, एक किलोमिटर जति पाइप लाइन, विद्युतगृह र अन्य संरचनामा क्षति गरेको थियो । बाढी पहिरोले क्षति गरेको संरचनाको मर्मत तथा पुनर्निर्माणको काम भने अहिले धमाधम भइरहेको कार्यकारी निर्देशक नेपालले जानकारी दिए । पुनर्निर्माणलाई तीव्रता दिँदै आएको र हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका स्थानीय जनसम्पर्क अधिकृत टीकाराम मिश्रले जानकारी दिए । आगामी वैशाखसम्ममा उत्पादन सुरु गर्ने गरी हाल निर्माणको काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार