धमाधम खुल्दै लक्जरी रिसोर्ट,जहाँ बस्न प्रतिदिन २५ हजारदेखि तीन लाखसम्म खर्च

शनिबार, १२ फागुन २०८०
नवीन अर्याल काठमाडाैं- देशभर डेढ दर्जन यस्ता रिसोर्ट खुलेका छन्, जहाँ बस्न प्रतिदिन २५ हजारदेखि तीन लाखसम्म खर्च गर्नुपर्छ । खर्चालु पर्यटक देश भित्र्याउन पनि भूमिका खेलिरहेका यस्ता रिसोर्टहरूले रोजगारी सिर्जनामा पनि योगदान गरेका छन् । अमेरिकाको नेसनल जियोग्राफिकले माघमा जोमसोमको ‘शिन्तामणि मुस्ताङ’लाई विश्वका उत्कृष्ट होटेलको सूचीमा राख्यो । उसको उत्कृष्ट सूचीमा एसियाबाट तीनवटा होटेल परेका छन्, जसको पहिलो नम्बरमा मुस्ताङको शिन्तामणि छ । स्थानीय ढुंगाहरू कुँदेर बनाइएको रिसोर्ट साउनदेखि सञ्चालनमा आएको हो । रिसोर्टमा बस्न एक जोडी विदेशीले प्रतिरात तीन लाख र नेपालीले डेढ लाख रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । यसै वर्ष मात्र खर्चालु पाहुना लक्षित गरी पोखरामा दोर्जे रिसोर्ट र काभ्रेमा दुसित थानी हिमालय रिसोर्ट सञ्चालनमा आए । गत वर्ष नगरकोटमा तीन अर्ब लगानीमा काव्या रिसोर्ट सञ्चालनमा ल्याइएको छ । रिसोर्टमा नौलो डिजाइनका आकर्षक भिल्ला निर्माण गरिएको छ । यहाँ एक जोडीले एक रातको बसाइका लागि न्यूनतम ३९ हजार पाँच सय रुपैयाँ खर्च गर्नुपर्छ । मेघौलीमा ताज सफारी र बाराही जंगल लज खुलेको धेरै भइसक्यो । काठमाडौंनजिकैको द्वारिकाज धुलिखेल हाइप्रोफाइलको गन्तव्य भइहाल्यो । यी भए प्रतिनिधि उदाहरण मात्र । पछिल्लो समय नेपालमा आरामदायी विलासी रिसोर्ट खुल्ने क्रम बढ्दो छ । विभिन्न ठाउँमा दर्जनभन्दा बढी लक्जरी रिसोर्ट खुलेका छन् । कतिपय सञ्चालनको तयारीमा छन् । यी रिसोर्टमा प्रतिरात ३० हजारदेखि तीन लाखसम्म खर्च गर्न सक्ने मात्र बस्न सक्छन् । खर्चालु पर्यटकलक्षित रिसोर्टमा लगानी पनि धेरै हुन्छ । लक्जरियस भौतिक संरचना र सेवा–सुविधामा कुनै सम्झौता गरिँदैन । नगरकोट, धुलिखेल, लाँकुरीभञ्ज्याङ, खुम्बु क्षेत्र, पोखरा, मेघौली, अमलटारी, मुस्ताङ, बर्दियालगायत ठाउँमा लक्जरी रिसोर्ट खुलिरहेका छन् । लक्जरी रिसोर्टको बसाइ पाँचतारे होटेलको भन्दा खर्चिलो हुने कोरा टुर्स एन्ड ट्राभलका सिइओ विजय अमात्य बताउँछन् । चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगरटप्स जंगल पर्यटन र लक्जरी पर्यटनको कोसेढुंगा मानिन्छ । सन् १९६४ मा चारवटा कोठाबाट सुरु भएको टाइटर टप्समा पछि २० कोठा पुर्‍याइएको थियो । तर, टाइगरटप्स बन्द भएपछि हाइप्रोफाइल र खर्चालु पर्यटक आउन धेरै कम भएको छ । शिन्तामणि मुस्ताङ - मुस्ताङमा खुलेको ‘शिन्तामणि’ देशकै महँगो रिसोर्ट हो । शेर्पा हस्पिटालिटीले जोमसोममा दुई हजार सात सय मिटर उचाइमा सञ्चालन गरेको रिसोर्ट सम्भवतः देशकै महँगो रिसोर्ट हो । ठूलो झ्यालसहितका कोठाबाटै प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । रिसोर्टमा दुईवटा जुनियर स्विट, नौवटा ग्राउन्ड फ्लोर स्विट, १४ वटा टप फ्लोर स्विट र एउटा बाल्कोनी स्विट गरी २९ कोठा छन् । एक जोडी पर्यटकले प्रतिदिन न्यूनतम दुई लाख ३९ हजारदेखि तीन लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । द्वारिकाज धुलिखेल रिसोर्ट - बत्तीसपुतलीस्थित द्वारिकाजकी सञ्चालिका अम्बिका श्रेष्ठले धुलिखेलमा पनि भव्य रिसोर्ट सञ्चालनमा ल्याएकी छिन् । जहाँ एक रात बस्नका लागि पर्यटकले न्यूनतम साढे पाँच सय डलर तिर्नुपर्ने हुन्छ । द्वारिकाज धुलिखेलमा ३९ वटा स्विट्स र एउटा थ्री बेडरुम भिल्ला छ । २६ वटा एक्जुकेटिभ स्विट्स, १२ वटा जुनियर स्विट्स र एउटा रोयल स्विट्स छ । रिसोर्टमा सात सय ५३ र नो सय ६८ स्क्यायरफिटको बेडरुम र विशाल बाथरुम छन् । मेघौली सेराई - चितवनको मेघौली सेराई रिसोर्टले खर्चालु पर्यटकलाई सेवा दिन्छ । रिसोर्टमा निजी स्विमिङ पुलसहितका १६ भिल्ला, एउटा प्रेसिडेन्सियल स्विट र भवनमा १२ वटा कोठा छन् । सबै कोठाबाट निकुञ्जको दृश्यावलोकन गर्न पाइन्छ । सिजी हस्पिटालिटीले ताज सफारी मेघौली सेराई सञ्चालनमा ल्याएको हो । आतिथ्य सत्कारका लागि ताज कहलिएको ब्रान्ड हो । रिसोर्टले मेघौली रुमको दुई सय ९० डलर, राप्ती भिल्लाको पाँच सय ९० र राप्ती महल स्विटको एक हजार चार सय ६० डलर मूल्य तोकेको छ । दी टेरेसेस - पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले ललितपुरको लाँकुरीभञ्ज्याङमा लक्जरी रिसोर्ट ‘दी टेरेसेस’ सञ्चालनमा ल्याएका छन् । रिसोर्टमा १६ वटा डिलक्स स्विट्स, २८ वटा सुपेरियर स्विट्स र दुईवटा टेरेसेस प्रेसिडेन्सियल स्विट्स रुम रहेका छन् । ४० रोपनी क्षेत्रफलमा निर्माण गरिएको रिसोर्टमा एक अर्ब लगानी भएको बताइएको छ । रिसोर्टले न्यूनतम दुई हजार ८० डलरमा कोठा बिक्री गर्दै आएको छ । दुसित थानी हिमालय रिसोर्ट - यसै वर्ष काभ्रेको नमोबुद्धमा दुसित थानी हिमालय रिसोर्ट खुलेको छ । रिसोर्टमा सुविधासम्पन्न भिल्लाहरूमा २८ कोठा सञ्चालनमा आएका छन् । दीर्घकालमा कोठाहरू थपेर ८९ पुर्‍याउने लक्ष्य राखिएको छ । रिसोर्टमा नेपालीलाई ३३ हजारदेखि साढे ४४ हजारसम्म र विदेशीका लागि करबाहेक चार सय र साढे चार सय डलर तोकिएको छ । लञ्च र डिनरका लागि छुट्टै तिर्नुपर्ने रिसोर्टका प्रतिनिधिले बताए । काव्या रिसोर्ट - नगरकोटमा नौलो डिजाइनमा काव्य रिसोर्ट खुलेको छ । विशाल कोठाबाटै रमणीय दृश्य देख्न पाइन्छ । रिसोर्टमा बस्न एक जोडी पर्यटकले करबाहेक स्विटको ३५ हजार, वान बेडरुम भिल्लाको ४५ हजार र टु बेडरुम भिल्लाको ८० हजार रुपैयाँ खर्चिनुपर्छ । विदेशी पर्यटकका लागि करबाहेक ५० हजारदेखि ९९ हजार रुपैयाँसम्म तोकिएको छ । पोखरामा केन्द्रित लक्जरी रिसोर्ट पोखराका छेउछाउ र डाँडाकाँडा लक्जरी रिसोर्टले भरिँदै छन् । ब्रिटिस नागरिक डगलसले पोखरामा दी प्याभिलियन हिमालयज द फार्म र प्याभिलियन हिमालयज लेक भ्यु टेन्टेड क्याम्प सञ्चालन गर्दै आएका छन् । टेन्टेड भिल्लाको प्रतिव्यक्ति करबाहेक एक सय ३० डलरदेखि तीन सय ५० डलरसम्म तोकिएको छ । पुम्दीभुम्दी चिसापानीमा रहेका द फार्ममा ४० स्विट छन् । पोखराको सेदीमा नेपाली मौलिक र आधुनिक शैली फ्युजन गरी ‘दोर्जे रिसोर्ट एन्ड स्पा’ सञ्चालनमा आएको छ । रिसोर्टका २३ कोठाबाटै फेवातालको सुन्दर दृश्य हेर्न पाइन्छ । रिसोर्टमा नेपालीलाई प्रतिदिन २२ हजारदेखि ४० हजार रुपैयाँ तोकिएको छ । विदेशीलाई करबाहेक प्रतिदिन दुई सय ५० देखि ६ सय ५० डलरसम्म पर्ने उनले बताए ।
सराङकोट माउन्टेन रिसोर्टमा ३० कोठा छन् । यो रिसोर्टको सबैभन्दा आकर्षण भनेकै रुफटप स्विमिङ पुल हो, जहाँ हिमालको छाया देखिन्छ । रिसोर्टमा विदेशीका लागि स्विटको चार सय डलर र डिलक्सको दुई सय डलर रहेको रिसोर्टका म्यानेजर कमलप्रसाद दाहालले बताए । नेपालीलाई डिलक्सको १६ हजार र स्विटको ३२ हजार तोकिएको छ ।
सराङकोटमै अन्नपूर्ण भ्यु होटेल खुलेको छ । पोखरामै रहेको टाइगर माउन्टेन पोखरा लज पनि महँगो रिसोर्ट हो । यो रिसोर्टमा पर्यटकलाई करबाहेक पाँच सय डलर तोकिएको छ । रूपाकोट रिसोर्ट पोखरा क्षेत्रमै चर्चित छ । टिपिकल नेपाली शैलीमा निर्माण गरिएका भिल्लाहरूले सिँगो गाउँकै झल्को दिन्छन् । रिसोर्टमा नेपालीले २४ हजारदेखि ४९ हजारसम्म र विदेशीले दुई सय २५ डलरदेखि पाँच सय २५ डलरसम्म तिर्नुपर्छ । भारतीयलाई १७ हजार भारुदेखि ३३ हजार भारुसम्म तोकिएको छ । बाराही जंगल लज -  राप्ती नदी किनारमा रहेको बाराही जंगल लजमा ३५ कोठा छन् । एउटा स्विट छ । लजमा दुई दिनको प्याकेज नेपालीलाई करसहित ७० हजार रुपैयाँ पर्छ । विदेशीलाई भने प्रतिदिन पाँच सय ७० सय डलर पर्ने रिसोर्टकी प्रतिनिधिले बताइन् । जंगलका ब्रान्ड - टाइगरटप्स र टेम्पल टाइगर पूर्वी नवलपरासीको नवलपुरमा टाइगरटप्स थारू लज र टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट सञ्चालनमा छन् । यी दुवै सफारी पर्यटनमा चिरपरिचित लक्जरी ब्रान्ड हुन् । दुवै लजले पहिलेकै प्रिमियम मूल्यमा आफ्नो सेवा बिक्री गर्न सकेका छैनन् । तर, जंगलभित्रको विरासत जोगाउन भने कोसिस गरिरहेका छन् । त्यस्तै, टाइगरटप्स ग्रुपले बर्दिया राष्ट्रिय निकुञ्जबाहिर टाइगरटप्स कर्णाली लज सञ्चालन गरिरहेको छ । चन्द्रागिरि रिसोर्ट - नेपाली परम्परागत शैलीमा निर्माण गरिएको चन्द्रागिरि रिसोर्ट पनि आकर्षक छ । केबलकार चढेर सरर चन्द्रागिरि पुगेपछि १८० डिग्रीमा हिमालहरू, वरिपरि घना जंगल, तलपट्टि काठमाडौं सहर र चित्लाङको गाउँ देखिन्छ । रिसोर्टमा एक सय कोठा छन् । फिस्टेल लज - एक समय पोखराको फिस्टेल लजको बसाइ धनाढ्यकै लागि सपना हुने गर्थ्यो । तर, समयअनुसार लजको भौतिक पूर्वाधार र सेवा–सुविधाहरू स्तरोन्नति नगरिँदा रिसोर्ट ओझेलमा पर्दै गइरहेको छ । रिसोर्टको रुमरेट २४ हजारदेखि ७२ हजारसम्म रहेको बुकिङ डटकममा उल्लेख छ । रोयल मुस्ताङ रिसोर्ट - मुस्ताङको लोमान्थाङमा सञ्चालित रोयल मुस्ता रिसोर्ट पनि खर्चालु पर्यटकलाई सेवा दिँदै आइरहेको छ । यो रिसोर्टमा बस्न प्रतिदिन तीन सयदेखि पाँच सय डलरसम्म पर्छ । आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार