इटहरी- इटहरीमा लेखन र पठन संस्कृतिबारे बहस कार्यक्रमको आयोजना गरिएको छ । बुधवार विश्व आदर्श कलेज साहित्यिक सङ्घको आयोजनामा कलेजको सभा हलमा आयोजित कार्यक्रममा ‘लेखन र पठन संस्कृतिमा हामी कहाँ छौँ’ शीर्षकबारे बहस कार्यक्रमको आयोजना गरिएको हो ।
शिक्षाविद् डा.तारा निरौला, पत्रकार विवेक विवश रेग्मी, पाठक तथा विद्यार्थीद्वय योगेन्द्र पराजुली र उमा भट्टराई वक्ताका रूपमा थिए भने कार्यक्रमलाई प्रवीण अधिकारीले सहजीकरण गरेका थिए ।
वक्ताहरूले लेखन र पठन संस्कृतिको विकास भइरहेपनि पर्याप्त नभएको बताएका थिए । पठन र लेखन संस्कृतिले मानिसको चेतना स्तरमा परिवर्तनसँगै जीवन बुझ्नसमेत सहज हुने वक्ताहरूको भनाइ थियो ।
कार्यक्रम संयोजक युवराज काफ्लेका अनुसार चेतना र जागरणका निम्ति उक्त कार्यक्रमको आयोजना गरिएको हो । ‘पठन संस्कृतिको विकासले विश्व मानवहरूसँग जोडिने माध्यमको रूपमा समेत काम गर्छ जसले सम्बन्ध विस्तार र अवसरको सृजना गर्दछ,’ उनले भने, ‘विश्व घटना र परिवेशसँगै आफ्नो समाज र देशको इतिहासदेखि भविष्यसम्मको जानकारी लिनसमेत मद्दत गर्छ । जसकारण जीवनमा अध्ययनको ढोका खोल्न मद्दत हुन्छ ।’
उनले इटहरीमा पठन संस्कृतिको विकासका निम्ति अभियान नै चलाउनुपर्ने बताए ।
कार्यक्रममा साहित्यिक सङ्घकी सदस्य एलिशा आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् भने विश्व आदर्श कलेज साहित्यिक सङ्घका अध्यक्ष अभिषेक खतिवडाको सभाध्यक्षयतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया