झापा । झापाको बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परेका छन् ।
सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा ३ करोडभन्दा बढी रकम हिनामिना भएको उजुरीका आधारमा उपाध्यक्ष नारायण श्रेष्ठ र व्यवस्थापक केशवकुमार भण्डारी पक्राउ परेका हुन् ।
उनीहरु दुवै जना बुद्धशान्ति गाउँपालिका–२का स्थानीयवासी हुन् ।प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयमा जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापकबिरुद्ध उजुरी परेको र सहकारी रजिष्ट्रार कार्यालयको पत्र अनुसार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका उनीहरुबिरुद्ध सहकारी ठगी सम्वन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुसहित पाँच जनाविरुद्ध उजुरी परेको बताइएको छ । तर, अन्य व्यक्ति फरार रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । शेयर सदस्य तथा बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा २०७९ भदौदेखि सहकारी संस्था बन्द भएको छ । २०५९ सालमा स्थापित संस्थामा ४९ लाख ९८ हजार १ सय शेयर पुँजी र ३ करोड ८ लाख ६८ हजार १ सय ४४ रुपैयाँ निक्षेप बचत रहेको छ ।
संस्थाको आन्तरिक लेखा समितिले २०८० साल भदौ ७ गते दिएको प्रतिवेदनमा ऋण लगानी ४७ लाख ३१ हजार २ सय ५५ रुपैयाँ र बैंक बचत ६ लाख ९० हजार ३ सय ६० रुपैयाँ गरेर ५४ लखा २१ हजार ६ सय १४ रुपैयाँ पुँजी देखाएको छ । कूल आयमा लगानी र बैंक मौजात रकम घटाउँदा ३ करोड ४ लाख ४४ हजार ६ सय २९ रुपैयाँ कहाँ छ भन्ने देखिँदैन ।
लेखा समितिको प्रतिवेदनमा २ करोड ८२ लाख ४८ हजार ९२ रुपैयाँ हिसाब बचत नदेखिएको उल्लेख छ । बैंकमा बचत गर्नुपर्ने रकम सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा हिनामिना भएको छ ।
सहकारीले शेयर तथा बचत फिर्ता गर्न नसकेपछि स्थानीयले सञ्चालक समितिबिरुद्ध गाउँपालिका र सहकारी रजिष्ट्रार कार्यालय इनरुवामा उजुरी दिएका थिए । शेयर सदस्य तथा बचतकर्ताले २०८० साल वैशाख ३ गते रकम फिर्ताको माग गर्दै बुद्धशान्ति गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए ।
गत भदौ ८ गते पीडितले सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवामा उजुरी दिएका थिए । सहकारी रजिष्ट्रार कार्यालयले सहकारी संस्थाको रकम अपचलन भएको प्रारम्भिक अध्ययनले देखाएको जनाएको छ । जसमा तीन करोड भन्दा बढी मिलेमतोमा अपचलन भएको बताइएको छ ।
संस्थामा घनश्याम भट्टराई २०७० सालदेखि अध्यक्ष छन् । उनी अध्यक्ष भएदेखि संस्थामा आर्थिक अपचलन शुरु भएको बताइएको छ । सञ्चालक समितिले आर्थिक वर्ष २०७६-२०७७ देखि लेखा प्रतिवेदन नबुझाएको बताइएको छ ।
समितिले निर्णय नगरी लगानी गर्ने, ऋण समितिका सदस्यलाई जानकारी नदिइ बिना भरपाई ऋण लगानी गर्ने, संस्थाको चेकबाट बाहिरका व्यक्तिलाई भुक्तानी दिने जस्ता कार्य भएको लेखा समितिको प्रतिवेदनमा उल्लेख छ ।
त्यसो त पछिल्लो समय सहकारी संस्थाले बचतकर्तालाई ठगेको भन्दै प्रहरी, नियामनकारी निकाय, स्थानीय तहमा अहिले बचतकर्ताको उजुरी दिनानुदिन बढ्दै गइरहेको छ ।
सहकारी ऐन विपरीत आर्थिक कारोबार गर्दै आएका त्यस्ता सहकारीहरु संकटग्रस्त अवस्थामा छन् । जसका कारण बचतकर्ताको करोडौँ रकम जोखिममा परेको पाइएको छ ।
झापामा सञ्चालित जयपुर सहकारी संस्था मात्र होइन अनेकौं बेथितिबाट गुज्रिएका दर्जन बढी सहकारी संस्थाहरुका सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने गरेको पाइएको छ ।
सञ्चालकले मनोमानी ढंगले रकम चलाउन थालेपछि झापामा सञ्चालित केही सहकारीमा समस्या बढ्दै गएको हो । जसले गर्दा एकपछि अर्को सहकारी संस्थामा निक्षेपकर्ताको रकम जोखिममा पर्न थालेको हो । निक्षेपकर्ताको करोडौं रूपैयाँ जोखिममा पर्दै आएको छ ।
जयपुर सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै यसअघि नेपाल कम्युनिष्ट पार्टीले समेत आपत्ति जनाएको थियो । विप्लव नेतृत्वको नेकपा पूर्वी झापा जिल्ला सेक्रेटरी हुकुम सिले विज्ञप्ति जारी गर्दै बुद्धशान्ति–२ जयपुरमा रहेको सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा तीन करोडभन्दा बढी रकम हिनामिना भएको भन्दै आपत्ति जनाएका थिए ।
सहकारीका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा अपचलन हुने गरेको बचतकर्ताको रकम फिर्ता गरिनुपर्ने उसले विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा बचतकर्ताको रकम फिर्ता नगरे जनपरिचालनसहित कार्वाही प्रक्रिया अघि बढाउने चेतावनी समेत दिइएको थियो ।
प्रतिक्रिया