इलाम- पर्यटक आवतजावत गर्ने सडक सहज बनाउन थालिएको छ ।
इलामको माइजोगमाई गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्र तथा माईजोगमाई भएर अन्यत्र जाने पर्यटकीय हिँड्ने सडक सहज बनाउन सुरु गरिएको हो । गाउँपालिकाको केन्द्रबाट उच्च पहाडी क्षेत्रका पर्यटकीय स्थलसम्म सडक सुविधा सहज हुँदै गएपछि पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।
समुद्री सतहबाट करिब तीन हजार एक सय मिटर उचाइसम्मका लेकाली क्षेत्र पुग्न यसअघि सडक समस्या थियो । हिउँदमा जसोतसो सवारीका साधन केही माथिसम्म पुगे पनि बर्खामा यातायात ठप्प प्रायः हुन्थ्यो । तर, नयाँबजारबाट पर्यटकीय थुम्के रानी, जौबारी, तुम्लिङ हुँदै मेघमासम्म पुग्ने पर्यटकीय सडक अहिले धमाधम सोलिङ हुँदै छ । लेकाली क्षेत्रमा कि ढलान, कि सोलिङ नै तत्काललाई उत्तम विकल्प हुने भएकाले गत वर्षदेखि सडकमा सोलिङ नै गरिरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले विभिन्न स्रोत जुटाएर पर्यटकीय क्षेत्र पुग्ने सडकमा बाह्रै मास सवारीका साधन चल्न सक्ने बनाउन प्रयास गरिरहेको बताए । गाउँपालिकाको केन्द्र नयाँबजारबाट करिब १६ किलोमिटरको यो सडकले माइजोगमाई र सन्दकपुर गाउँपालिकाका महत्त्वपूर्ण पर्यटकीय स्थल छुने उनले बताए ।
सडक मर्मतका लागि गएको वर्ष कोसी प्रदेश सरकारको समपूरक एक करोड बजेट यो सडकमा खर्च गरिएको थियो ।
त्यस्तै करिब ८० प्रतिशत भागको सोलिङ गाउँपालिकाले नै गरिरहेको गाउँपालिका अध्यक्ष थेबेले बताए । अध्यक्ष थेबेले लेकाली र भारतीय सीमासँग जोडिएका स्थानमा रहेका नेपाली पर्यटकीय स्थलको विकासमा इलामका अन्य पालिकासँग पनि माइजोगमाईले समन्वय गर्ने बताए ।
भारत पश्चिम बङ्गालका पर्यटकसमेत यही सडक भएर माइजोगमाई, सन्दकपुर, देउमाई लगायत ठाउँसम्म आउ–जाऊ गरिरहेका छन् ।
मानेभञ्ज्याङ, सन्दकपुर, कालपोखरी, तुम्लिङ, मेघमा, टङ्लुलगायत सीमावर्ती क्षेत्रबाट बर्सेनि सयौँ भारतीय पर्यटक इलामका लेकाली गाउँमा आऊ–जाऊ गर्छन् । उनीहरू केही पैदल नै आवतजावत गर्छन् भने केही सवारीमा समेत आउने गरेका छन् ।
प्रतिक्रिया