जनकपुरधाम- मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनमा सत्तागठबन्धनको बहुमत पुग्ने भए पनि एमाले र जसपाले मुख्यमन्त्रीमा दाबी गरेपछि संकट लम्बिएको छ । जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारमा एमालेसहित दल आबद्ध हुने कि नयाँ मुख्यमन्त्री चयन गर्ने भन्ने विषयमा गठबन्धनमा सहमति जुट्न नसकेको हो । जसपाले मधेशमा मुख्यमन्त्री बटमलाइन बनाएर केन्द्र सरकारमा सहभागी भएका वेला एमाले मधेश प्रदेश समितिले सरकारमा दाबी प्रस्तुत गरेको हो ।
आइतबार रौतहटको चन्द्रनिगाहपुरमा भएको एमाले मधेश प्रदेश कमिटीको दोस्रो बैठकपछि एमाले मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले कुनै पनि अवस्थामा मधेश प्रदेशमा आफ्नो पार्टीले दाबी नछाड्ने बताए । ‘मधेशमा सबैभन्दा ठूलो दल एमाले हो । मधेशी जनताको जनमत एमाले नेतृत्वको सरकारका लागि भएकाले गठबन्धनमा आबद्ध दलहरूले पनि जनमतको कदर गर्दै निःसर्त हामीलाई नेतृत्व दिनुपर्छ,’ उनले भने ।
मधेश प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने बार्गेनिङका कारण नयाँ सत्तागठबन्धनमा सामेल हुन विलम्ब गरेका जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार उपप्रधानमन्त्रीको शपथ लिइसकेका छन् ।
नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवले अहिले प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा गठबन्धन दलबीच कुनै सहमति नभएको बताए । उनले भने, ‘एमाले मधेश प्रदेशको सबभन्दा ठूलो पार्टी हो । त्यस हिसाबले सरकारको नेतृत्व हामीले पाउनुपर्ने हो ।’
जसपाका मधेश प्रदेशका प्रमुख सचेतक रामआशिष यादवले गठबन्धन दलबीच मुख्यमन्त्री जसपाले पाउने सहमति भइसकेको बताए । प्रदेशमा मुख्यमन्त्री कायम रहने सर्तमा जसपा संघीय सरकारमा सहभागी भएको उनले बताए । एक सय सात सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ मत चाहिन्छ । एमालेको २३, जसपाको १९, माओवादीको नौ र एकीकृत समाजवादीको सात गरी ५८ मत छ ।
अहिले केन्द्रीय गठबन्धनमा नरहेका कांग्रेसको २२, जनमतको १३, लोसपाको नौ तथा राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका एक–एक गरी ४७ मत छ ।
मुख्यमन्त्रीले मागे कांग्रेसका मन्त्रीको राजीनामा
केन्द्र सरकारमा जसपा सहभागी भएसँगै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका मन्त्रीहरूसँग राजीनामा मागेका छन् । केन्द्रमा बनेको नयाँ सत्तागठबन्धनमा जसपा सहभागी भए पनि मधेश प्रदेशमा अझै पुरानै गठबन्धनको सरकार कायम छ ।
नयाँ गठबन्धनभित्र आफ्नो नेतृत्व सुरक्षित रहनेमा आश्वस्त भएपछि मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार नै काठमाडौंबाट फर्केलगत्तै कांग्रेसका तीन मन्त्रीसँग राजीनामा दिन आग्रह गरेका थिए । तर, कांग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले ‘आफूहरूले राजीनामा नदिने र बर्खास्त गर्ने अधिकार तपाईंसँग छ, बर्खास्त गर्नुस्’ भनेर मुख्यमन्त्री यादवलाई जवाफ फर्काएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले आफू सरकारमा सामेल भएपछि मात्र कांग्रेसका मन्त्रीलाई बर्खास्त गर्न मुख्यमन्त्री यादवलाई निर्देशन दिएका थिए । अहिले सरकारमा कांग्रेस, जसपा, लोसपा र माओवादी सरकारमा छन् ।आइतबार उपेन्द्र सरकारमा गइसकेकाले मुख्यमन्त्री यादव आइतबार नै कांग्रेसका मन्त्रीहरूलाई हटाउने मनसायमा थिए । तर, एमालेले मुख्यमन्त्रीमा दाबी गरेपछि मुख्यमन्त्रीले तत्काल कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गर्न चाहेका छैनन् ।
आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया