पुलिसलाई हराउँदै मोरङ टिम बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

सोमबार, २८ फागुन २०८०
धरान - नेपाल पुलिस क्लबलाई हराउँदै एन्फा मोरङ टिम सुनसरीको धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज तेस्रो क्वाटर फाइनलमा मोरङसँग ३–० गोल अन्तरले पराजित हुँदै विभागीय टिम पुलिस क्लब पहिलो खेलबाटै बाहिरिएको हो । विजयी टिम मोरङका महेन्द्र कार्की, उमेश कार्की र सुशील राईले एक–एक गोल गरे । पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफमा पुलिसमाथि दबाब बढाएको मोरङका लागि महेन्द्रले ७०औँ मिनेटमा साइमन लिम्बुले प्रहार गरेको फ्रिकिकलाई हेड मार्फत गोल गरेका थिए । ८०औँ मिनेटमा पुलिसका सञ्जीव लामाले मोरङका मौसम लिम्बुलाई डिएरियामा लडाएपछि रेफ्री मनिष अधिकारीले पेनाल्टी दिएका थिए । पेनाल्टी अवसरलाई उमेशले सहजै गोलमा परिणत गरे । मोरङका लागि खेलको अन्तिम चार मिनेटको अतिरिक्त समयमा सुशीलले गोल गरेपछि पुलिस ३–० ले स्तब्ध भएको हो । आजको जीतसँगै मोरङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको म्यान अफ द म्याच विजयी टिमका उमेश कार्की घोषित भए । उनले नगद १० हजार पाए । प्रतियोगिता अन्तर्गत मंलवारको अन्तिम क्वाटर फाइनलमा झापा गोल्डकप विजेता चर्च ब्वाईज क्लब र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच खेल हुने आयोजकले जनाएको छ । चैत्र ३ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार