चर्च ब्वाइजलाई हराउँदै काँकडभिट्टा सेमिफाइनलमा

मंगलबार, २९ फागुन २०८०
धरान । झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई हराउँदै काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर सुनसरीको धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । चर्च ब्वाइज प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । आज भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च ब्वाईज काँकडभिट्टासँग १–० गोल अन्तरले पराजित भएको हो । काँकडभिट्टाका आशिष चापागाईँले खेलको ४४औँ मिनटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो । पहिलो हाफमा फितलो प्रदर्शन गरेको चर्च ब्वाइजले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरे पनि नतिजा आफ्नो पक्षमा ल्याउन सकेन । खेलको म्यान अफ द म्याच झापाका विशाल घलान घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । आजको विजेता काँकडभिट्टाले दोस्रो सेमिफाइनलमा न्युरोड टिम (एनआरटी) सँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । एनआरटी त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ । भोलि बुधवारको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबीच प्रतिस्पर्धा हुनेछ । आयोजकले पाहुना टोली युकेएफसी भारतलाई र मोरङले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो । चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार