मोरङको सुन्दरहरैँचामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते

सोमबार, ०५ चैत्र २०८०
विराटनगर । मोरङको सुन्दरहरैँचामा आइतबार साँझ जंगली हात्तीले आक्रमण गर्दा दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार हात्तीको आक्रमणबाट सुन्दरहरैँचा नगरपालिका–६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले घाँस काट्न शिवम् साझेदारी वन गएका बेला उनीहरुलाई हात्तीले आक्रमण गरेको बताए । घाँस काट्ने क्रममा हात्तीसँग जंगलमा जम्काभेट हुँदा श्रेष्ठ र राय साँझ ५ बजेतिर आक्रमणमा परेका हुन् । हात्तीले श्रेष्ठको खुट्टामा कुल्चिएको र रायलाई सुँडले हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मध्यम अवस्थाका घाइतेमध्ये श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रायको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गरेपछि हात्ती जंगलतर्फ लागेको जानकारी प्रहरीले दिएको छ । सुन्दरहरैँचा क्षेत्रमा शनिबारदेखि नै जंगली हात्ती देखा परेका थिए । हात्ती १५÷२० वटाको संख्यामा रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार