सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा ९ मा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेड( plo) ले सर्वसाधारणकाे हितका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
आईपीओ जारी गर्ने गरी पीएलओले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ५ लाख कित्ता शेयर जारी गर्नका लागि कम्पनीले प्रभू क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेको हाे । सो नियुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । पूर्वाञ्चल ल्यूब आयलका तर्फबाट प्रवन्ध निर्देशक भोलेश्वर दुलाल तथा प्रभू क्यापिटलबाट प्रवन्ध सञ्चालक दीनेश थकालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अल्फा प्लस भेन्चर्सका तर्फबाट प्रबन्ध निर्देशक अंगिश घिमिरे र पीएलओका तर्फबाट प्रबन्ध निर्देशक दुलालबीच शेयर खरीदबिक्री सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
सो शेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता शेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको ४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने भएको भएको उल्लेख गरिएको छ ।
आईपीओ जारी भएसँगै प्रालिका रूपमा रहेको पीएलओ पब्लिक कम्पनीमा रूपान्तरित भएर सर्वसाधारणमा शेयर जारी गर्न पुगेको पिएलओका प्रवन्ध निर्देशक दुलालले बताए । उनले अब आगामी आर्थिक वर्षमा कम्पनीले ५ लाख कित्ता शेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा बिक्री गर्ने जानकारी दिदै पब्लिक कम्पनीमा जाने ग्रामिणभेगकाे पहिलो लुब्रिकेन्ट कम्पनी पीएलओ भएको उल्लेख गरे।
आईपीओ जारी सम्बन्धि सम्झौताकाे कार्यक्रममा अल्फा भेन्चर्सका प्रबन्ध निर्देशक घिमिरेले प्राइभेट कम्पनी पब्लिक कम्पनीमा जाँदा धेरैको अपनत्व भई व्यवसायमा थप सुधार हुने उल्लेख गरे । प्रभु क्यापिटलका प्रबन्ध निर्देशक थकालीले सर्वसाधारणमा शेयर जारी गरेसँगै संस्थाको सुशासनमा सहयोग पुग्ने बताए ।
हस्ताक्षर कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालले मोफसलमा रहेर राम्रो प्रगति गरिरहेको लुब्रिकेन्ट कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुले अन्य कम्पनीलाई पनि सर्वसाधारणमा शेयर जारी गर्न सन्देश दिएको जानकारी दिए ।
पूर्वाञ्चल ल्यूब आयलले बिगत २३ वर्षदेखि आफ्नो उत्पादन बजारमा उपलब्ध गराउँदै आइरहेको छ । हाल देशभर ९० भन्दा बढी डिलर र ५ हजार भन्दा बढी खुद्रा व्यापारी कम्पनीमा आबद्ध छन् । २ लाख भन्दा बढी ग्राहकले कम्पनीका उत्पादन प्रयोग गरिरहेको उल्लेख गरिएको छ । विदेशी लुब्रिकेन्टलाई बिस्थापन गर्ने सोचसहित कम्पनीले पिएलओ ब्राण्डमा विभिन्न प्रकारका लुब्रिकेन्ट उत्पादन गर्दै आएकाे पिएलओका प्रवन्ध निर्देशक दुलालले उल्लेख गरे ।
प्रतिक्रिया